१७ वर्षदेखि कालोपत्रको पर्खाइमा

बेनी । म्याग्दी जिल्लाको विकासका लागि ‘लाइपmलाइन’ मानिएको बेनी–दरबाङ सडक ट्र्याक खुलेको १७ वर्ष पूरा भए पनि कालोपत्र गर्न सकिएको छैन । निर्माण गरिएको भाग पनि पहिरो र नदी कटानका कारण थप जीर्ण बन्दै गएको छ । सडकको स्तरोन्नति र कालोपत्रका लागि चार वर्षअघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको भए पनि ठेकेदार कम्पनीको लापर्बाही र अनुगमनकारी निकायको बेवास्ताका कारण सडक थप जोखिमपूर्ण बनेको छ ।

सडक स्तरोन्नति नहुँदा पश्चिम म्याग्दीका यात्रुलाई सास्ती छ । ०६३ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति र कालोपत्रेका लागि तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ०७४ असोज ४ गते बेनीदेखि बाबियाचौर खण्डको १३ किलोमिटर सडक कालोपत्र गर्न समानान्तर लामा जेभीसँग ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का सम्झौता गरेको थियो । ‘सडक कालोपत्रको काम सुरु गरेको चार वर्ष बित्यो तर, सडकको अवस्था झन् बिग्रदै गएको छ, चार वर्षमा एक किलोमिटर पनि कालोपत्र भएको छैन’, बेनी–दरबाङ सडक खण्ड अन्तर्गतपर्ने सिङ्गाका नरप्रसाद पौडेलले भने, ‘हामी बाँचुञ्जेल यो सडक कालोपत्र हुने मैले देखेको छैन ।’

सडकले म्याग्दीको मंगला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्छ । ट्र्याक खुलेलगत्तै तत्कालीन विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) ले करोडौँ खर्चेर सञ्चालन गरेको सडक सुधारको काम प्रभावकारी नभएपछि ०७४ देखि सडक डिभिजनले कालोपत्रका लागि सुरु गरेको स्तरोन्नतिको कामले पनि गति लिन नसक्दा यस क्षेत्रका बासिन्दामा निराशा छाएको छ ।

यात्रु साँघुरो, खाल्डाखुल्डी, ग्रेड र मोड सुधार नभएको जीर्ण सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । २४ किलोमिटर दुरीको यो सडक पार गर्न तीन घण्टा लाग्छ । ‘३० मिनेट लाग्ने सडक पार गर्न तीन घण्टा लाग्छ’, सवारी चालक शिव हुमेनले भने, ‘सडकको बेहाल अवस्थाले सास्ती खेप्नुपरेको छ ।’ बर्खामा हिलो र हिउँदमा धुलोको हैरान हुने गर्छ । रणबाङका रामहरि पौडेलले भने, ‘हिउँदमा धुलो उडेर, बर्खामा हिलो जमेर आवतजावत गर्न गारो हुन्छ’, उनले भने, ‘पिच बाटोमा सलल गुड्ने गाडी चढ्ने रहर सपनाजस्तै भयो ।’

जिल्लाका पश्चिम मंगला, मालिका र धवलागिरि तथा बागलुङको ताराखोला, बुर्तिवाङ जोड्ने बेनी–दरवाङ सडकको पहिलो १२ दशमलव ५ किलोमिटर सडकलाई ११ मिटर चौडा बनाई सात मिटरमा कालोपत्र गर्न ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिएका सांसद लामा र खरेलको लामा समानान्तर जेभीले चार वर्षमा पनि यो सडकको काम तीव्रगतिमा अघि बढाउन नसकेका बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए ।

‘यो सडक आयोजना र निर्माण व्यवसायीबाट सयौँ स्थानीयवासी पीडित छन् । नियामक निकायमा दर्जनौँपटक गुहारे पनि कसैले केही गर्न सकेन । आजित भएका स्थानीयवासीले कहिले सडकमा यातायातलाई अवरोध गर्छन्, कहिले कालो पोतेर व्यवसायीको फोटो राख्छन्’, वडाध्यक्ष बानियाँले भने ।

प्रतिक्रिया