सरोकारवालाको बेवास्ताले गर्दा बेनीका सिसिटिभी बेकामे

म्याग्दी । जिल्लाको सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी क्यामेरा नियमित मर्मत नहुँदा बेकामे भएका छन् । सरोकारवालाको बेवास्ता र विवादका कारण बेनी बजारका विभिन्न चोकमा जडान गरिएको सिसिटिभी क्यामेरा देखाउनका लागि सीमित भएको छ । बिग्रिएर काम गर्न छाडेको डेढमहिना हुँदासम्म मर्मत भएको छैन् । बजारका १७ ठाउँमा राखिएको सिसिटिभी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालयमा छ ।

हाल दुई वटा मात्र सिसिटिभीले काम गरेको छ । विद्युत्का खम्बामा राखिएका सिसिटिभी क्यामेरा तार चुँडिने, जल्ने, टुट्ने भएर बिग्रिएका हुन् । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सिसिटिभी क्यामेराले काम नगर्दा बजार क्षेत्रमा अपराध अनुसन्धान, दुर्घटना न्यूनीकरण र बजार ब्यवस्थापनमा समस्या भएको विभिन्न सार्वजनिक कार्यक्रममा उठाउँदै आएका छन् ।

‘नगरपालिका, प्रशासन, प्रहरी सहितको बैठकको निर्णयअनुसार उद्योग वाणिज्य संघका अध्यक्षको नेतृत्वमा गत साउनमा मर्मत भएको सिसिटिभी बिग्रिएको डेढ महिना भयो’, उनले भने, ‘प्राविधिकले मर्मत वापतको १ लाख ४० हजार भुक्तानी नपाएर मर्मतलाई निरन्तरता दिन नसकेको गुनासो गर्छन् । सुरक्षासँग सम्बन्धित यस्तो संवेदनशील विषयमा किन बेवास्ता गरिएको हो ?’

बेनीमा केही समययता सवारी साधन चोरीका घटना बढेका छन् । सवारी दुर्घटना, चोरी, बजार व्यवस्थापन र निगरानी गर्न प्रहरीलाई सिसिटिभीले सहयोग गरेको थियो । पाँच वर्षअघि म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा बेनीमा सिसिटिभी जडान भएको थियो । सिसिटिभी क्यामेराको सहायताले बजारको विभिन्न चोक र संवेदनशील क्षेत्रमा भएका गतिविधिलाई निगरानी गरिएको थियो ।

बेनी नगरपालिकाले गत आर्थिक वर्षमा बजारको सिसिटिभी क्यामेरा व्यवस्थापन गर्न १ लाख ५० हजार विनियोजन गरे पनि कार्यान्वयन भएन् । वडा, नगरपालिका, उद्योग वाणिज्य संघ र प्रहरी कार्यालय मध्ये कसले मर्मत गर्ने भन्ने विवादले गत वर्ष कार्यान्वयन नभएको बजेटलाई यसवर्ष पनि निरन्तरता दिएको छ ।

नयाँ आर्थिक वर्षको सुरुमै म्याग्दी उद्योग वाणिज्य संघमार्फत मर्मत गरेर बेनीका सिसिटिभी नियमित सञ्चालन गर्ने सहमति भएको थियो । संघका अध्यक्ष बेलबहादुर कटुवालले सहमतिअनुसार प्रहरीको सहयोगमा प्राविधिक खगेन्द्र खत्रीले बजारका सबै सिसिटिभी क्यामेरा मर्मत गरेर सञ्चालन गरेका थिए । ‘प्राविधिकले काम गरेको भुक्तानी पाएपछि बिग्रिएको सिसि टिभी मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्’, उनले भने, ‘सिसिटिभी नियमित मर्मत र सञ्चालन गर्ने जिम्मेवारी स्पष्ट नहुँदा समस्या भएको हो ।’

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले वडा कार्यालय र उद्योग वाणिज्य संघले जिम्मेवार भएर काम नगरेकाले सिसिटिभी मर्मत र सञ्चालनमा समस्या देखिएको बताए । ‘नगरपालिकाले प्राविधिकसँग गरेको सम्झौताअनुसार कामको मूल्यांकन र बिलको आधारमा भुक्तानी दिन्छ’, उनले भने, ‘एकै ठाउँमा राखेर छलफल गर्न खोज्दा नआउने उहाँहरूबीचको स्वार्थले सिर्जना गरेको समस्यामा नगरपालिकालाई दोष दिएर जिम्मेवारी र दायित्वबाट पन्छिन मिल्दैन ।’ सम्झौताअनुसार प्राविधिक मूल्यांकन गरेर भुक्तानीको प्रक्रिया अघि बढाउन कर्मचारी तथा सिसिटिभी मर्मत गर्न जिम्मा लिएका प्राविधिकलाई निर्देशन दिएको नगरप्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया