खलङ्गा । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रेफर गरेको कागज देखाउँदै गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे विमानस्थल पुगे । उनको तीन महिनाका छोरा रिवानलाई एक्कासी श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए ।
अस्पतालले नर्मल श्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्ने भए पनि घटेर ३६ मा पुगेपछि थप उपचारको लागि शनिबार नै रेफर गरेको थियो । निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी विमानस्थल पुगेका थिए । हवाई टिकटको लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरे तर उनले टिकट पाएनन् ।
विमानस्थल जानुअघि उनले पटक–पटक फोन गरेका थिए । उनले देखाएको रेफर कागजको विमानस्थलले सुनुवाइ गरेन । उनी छोरा लिएर घर फर्किए । उनले भने, ‘समयमै रेफर गरिएको अस्पतालमा लिएको भए छोरा निको हुने आश गरेको थिएँ, विमानस्थलमा देखिएको मनपरीले बिरामी छोरो बोकेर घर फर्किन बाध्य भए ।
दुई दिन अघिदेखि टिकटको लागि पहल थालेको थिएँ, एयरलाइन्स र एजेन्सीका मान्छेलाई फोन गरेको थिएँ, छोराको अवस्था जटिल हुँदै टिकटको लागि पहल गरेको थिएँ तर टिकट पाउन सकिनँ, अन्ततः बिरामी छोरो बोकेर घर फर्किएँ ।’
एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले तीन दिन अघिदेखि सिट प्याक भइसकेको जनाउँदै उनलाई फर्काइदिएका थिए । बिरामीले जहाजमा उड्न नपाउनु विडम्बना हो । उनले भने, ‘हामी अफ्ठयारो गाह्रो पर्दा हारगुहार माग्छौँ, टिकट पाउँदैनौँ, हवाई सेवा पहुँच वालाको मात्र होइन ।’
दुई दिनअघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको थियो । कुनै पनि बिरामी जहाजमा जान पाउनुपर्ने जनाउँदै बिरामीको विकल्प अरू हुन नसक्ने बैठकको निष्कर्ष थियो ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बिरामीले टिकट नपाउनु सुखद पक्ष नभएको बताए । उनले भने, ‘जुनसुकै एयर कम्पनीले बिरामीलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता दिनुपर्छ, अनि मात्र जहाज कम्पनीले सेवा दिएको अनुभूति हुनेछ ।’ उनले दुःखी बिरामीका लागि कर्णालीको हवाई सेवा आकाशको फल आँखा तरी मर जस्तै भएको बताए ।
विमानस्थलमा भएको भद्रगोलको बारेमा जति निर्णय र छलफल भए पनि इटिकटको व्यवस्था नभएसम्म नरोकिने उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हवाई सेवामा रेफर भएका बिरामीलाई पहिलो प्राथमिकता दिन निर्देश गरिएको जानकारी दिए ।
उनले भने, ‘धेरै दिनदेखि बिरामी होल्डमा थिए, अक्सिजन सिलिन्डर अभावले रोकिएका पातारासीका एक बिरामीलाई सोमबार पठाइएको थियो, अन्य बिरामीलाई जटिलता हेरेर प्राथमिकता दिइन्छ, सबैले समान रुपमा हवाई सेवा पाउनुपर्छ ।’ बिरामीलाई टिकट मिलाउन पहल गर्ने प्रतिबद्धता उनले जनाए । यहाँ तारा, सीता र समिट एयरका जहाज चल्ने गरेका छन् ।
प्रतिक्रिया