राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद रिक्त रहेको छ । २०७७ पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त ह्वाटमोरले भारतीय क्लबमा आबद्ध हुनका लागि राजीनामा दिएका थिए ।

ह्वाटमोरको प्रशिक्षणमा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो । उनले श्रीलंकाली राष्ट्रिय टिमपछि बंगलादेश, पाकिस्तान र जिम्बाब्वेको राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेका थिए । सन् १९८९ मा उनले क्रिकेट खेलाडीका रुपमा संन्यास लिँदै प्रशिक्षकका रुपमा करिअर सुरुवात गरेका थिए ।

क्यानले मुख्य प्रशिक्षक हुनका लागि ईसीबी वा सीए लेभल थ्री तालिमप्राप्त वा सो समानको योग्यता हुनुपर्ने बताएको छ । त्यस्तै आईसीसी पूर्ण सदस्य, फस्ट क्लास टिम वा एसोसियट सदस्य राष्ट्रका लागि कम्तीमा ५ वर्ष प्रशिक्षण गरेको अनुभव पनि हुनुपर्ने क्यानले जनाएको छ । इच्छुक प्रक्षिकले अक्टोबर ३१ सम्म आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया