बेंगलोरलाई हराउँदै चेन्नई शीर्षस्थानमा

दोहा । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । चेन्नईका सुरेश रैना १० बलमा २ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । कप्तान महेन्द्रसिंह धोनी ९ बलमा २ चौका सहित ११ रनमा अविजित रहे । चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ८.२ ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्पिनर युजभेन्द्र चहलले कप्तान विराट कोहलीबाट ऋतुराजलाई ३८ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । ऋतुराजले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । फाफ डु प्लेसिस २६ बलमा २ चौका र २ छक्का सहित ३१ रनमा क्याच आउट भए । डु प्लेसिस ग्लेन म्याक्सवेलको बलमा नवदीप सैनीबाट क्याच हुन पुगे । मोईन अली १८ बलमा २ छक्का सहित २२ रनमा क्याच आउट भए । बेगलोरका हर्षल पटेलले सर्वाधिक दुई विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । बेंगलोरका ओपनर देवदत्त पाडिक्कलले ५० बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए । कप्तान विराट कोहलीले ४१ बलमा ६ चौका र १ छक्का सहित ५३ रनको योगदान दिए ।

बेंगलोरलाई कोहली र पाडिक्कलले पहिलो विकेटका लागि १३.२ ओभरमा १ सय ११ रनको उत्कृष्ट साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । ड्वेन ब्राभोको बलमा कोहली रविन्द्र जडेजाबाट क्याच आउट भएपछि बेंगलोरले रन बनाउन सकेको थिएन । एवि डिभिलियर्स १२, म्याक्सवेल ११ रनमा आउट भए । एक समय १६.४ ओभरमा १४०–१ को अवस्थामा रहेको बेंगलोर लगातार विकेट गुमाएपछि सस्तैमा समेटिएको थियो । चेन्नईका ड्वेन ब्राभोले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । शार्दूल ठाकुरले दुई र दीपक चाहरले एक एक विकेट लिए ।

प्रतिक्रिया