यसरी समाप्त हुँदैछन् ओली

डा. डिआर उपाध्याय

ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणाम हो यो । यति हुँदा पनि ओलीको अझै होस आएको छैन । ओलीलाई पार्टी सकिन लागेको कुनै चिन्ता छैन । तर, ओलीका लागि यो नै अन्तिम झट्का भने हुने छैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन् । प्रदेश–१ को सरकार पनि ढल्ने देखिन्छ । बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ ।

एमाले विभाजन भएपछि माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको छ । पार्टी विभाजनले सबैभन्दा बढी अध्यक्ष केपी शर्मा ओलीको पार्टीलाई घाटा पुर्याएको छ । त्यति ठूलो पार्टी आज यस्तो अवस्थामा आएर पदारिएको छ । तर, ओलीका लागि यो नै अन्तिम झट्का भने हुने छैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन् । प्रदेश–१ को सरकार पनि ढल्ने देखिन्छ । बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ । अहम्ताको राजनीतिले अरूलाई सिध्याउँदैन अन्ततः आफैंलाई सिध्याउँछ । ओलीको घमण्डले पार्टी जोगिन सकेन । ओलीले एकताको बल्छी पटकपटक फाले तर माधव नेपाल त्यो बल्छीमा परेनन् । बरु आफ्नै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन् । माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरूले एमालेबाट विद्रोह गरेर नयाँ दल खोले लगत्तै उनको पार्टीमा आकर्षण बढ्दैछ । यो दलको भविष्य के हुन्छ त्यो त आगामी चुनावमा देखिएला । नेपाल–खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणाम हो यो । यति हुँदा पनि ओलीको अझै होस आएको छैन । ओलीलाई पार्टी सकिन लागेको कुनै चिन्ता छैन । ओलीले तीनपटक एकताका लागि वार्ताको नाटक गरे । तर त्यो सफल भएन । वरिष्ठ नेता नेपालविनाको एकता नाटक थियो त्यो । तेस्रो धारका नेताहरू माधव नेपाललाई धोका दिएर ओलीतिरै गएका छन् । अहिले जिम्मेवारी नपाएर हारगुहार गरिरहेका छन् । यसपटक ओलीको जालझेलको बल्छीमा तेस्रो धारका नेताहरू परेका छन् ।

एमालेको विभाजन नेताहरूको आपसी टक्कर मात्र नभएर अरू कुरा पनि छन् । ओलीको दम्भ र अहंकार नै प्रमुख कारण हो । उनको हैकम सहन नसकेर माधव–झलनाथले विद्रोह गरे । अबका दिनमा मुलुकको संसदीय राजनीतिमा क्रियाशील प्रमुख चार कम्युनिस्ट शक्तिमाझको ध्रुवीकरणमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकातिर र ओली एमाले अर्कोतिर हुने विश्लेषकको दाबी रहँदै आएको छ । नेपाली राजनीतिमा विभाजित दलको अवस्था सदैव दयनीय रहेको छ । दल नै विभाजित भई ०५६ सालमा निर्वाचनमा गएको एमाले वा छिन्नभिन्न भएर दोस्रो संविधानसभा निर्वाचनमा गएको माओवादी होस् सबैले पराजय नै भोगे । ओली एमालेको गुमेको ताज निकट भविष्यमा फर्कने कुनै सम्भावना छैन । मिश्रित निर्वाचन पद्धतिका कारण कुनै एक दलको बहुमत यसै पनि आउँदैन । यस्तोमा गठबन्धन निर्माणमा जो बलियो हुन्छ, उसैले बाजी मार्छ । संविधान, संघीय शासन र लोकतन्त्रलाई नै पाखा लगाउन तयार ओलीको एमालेसँग राष्ट्रिय दलहरू कोही पनि सहकार्य गर्न तयार हुने अवस्था देखिँदैन । ओलीको हैकमविरुद्ध विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीको भविष्य पनि चुनौतीपूर्ण नै छ । अतः जब नेपाल–खनालले विद्रोहको झन्डा बोके, स्वतःस्फूर्त ढंगले देशव्यापी रूपमा एमालेका समानान्तर जिल्ला कमिटी बने । जनवर्गीय संगठनका राष्ट्रव्यापी रूपमा समानान्तर सञ्जाल बने । त्यसमा नेता कार्यकर्ताको उत्साहपूर्ण संलग्नता पनि देखियो । पाटी दर्ता भएपछि सबै समानान्तर सञ्जाल नेकपा एकीकृत समाजवादीमा सामेल भयो । यसले राष्ट्रिय पार्टी खडा हुनेछ ।

यतिवेला नेपालको राजनीतिमा ध्रुवीकरण तीव्रताका साथ भइरहेछ । सत्तामा वाम–लोकतान्त्रिक पक्ष आसीन छ भने ओली एमालेको नेतृत्वमा राप्रपालगायत दक्षिणपन्थी पुरातनवादी शक्ति प्रतिपक्षमा छन् । यो अवस्थामा मुलुकको संसदीय राजनीतिमा क्रियाशील प्रमुख चार कम्युनिस्ट शक्तिमाझको ध्रुवीकरणमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकातिर र ओली एमाले अर्कोतिर हुने देखिन्छ । अझ यसमा जनता समाजवादी पार्टीको शक्तिसमेत थपिँदा यो एउटा सशक्त मोर्चा बन्ने स्पष्ट देखिन्छ । लोकतन्त्रमा पार्टी विभाजन हुनु त्यति राम्रो पक्ष त होइन, यसले लोकतन्त्र कमजोर बनाउँछ । लोकतन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने हो । तर, कहिलेकाहीँ परिस्थिति र इतिहासले यो भन्दा रहेन्छ । आज नेपाली जनता समस्या र चुनौतीसँग जुधिरहेका छन् । अहिले राजनीति दल र तिनका नेताहरू सत्ता स्वार्थको राजनीतिमा रुमल्लिरहेका छन् । देश र जनताको चिन्ताभन्दा पनि उनीहरूलाई सत्ताकै चिन्ता छ । राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई सिध्याउने खेलमा उनीहरू लागिरहेका छन् । अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, अरूको खेदो खन्ने, खुट्टा तान्ने, टीकाटिप्पणी र आलोचना गर्ने बाहेक नेताले अरू केही देखेका छैनन् । कार्यकर्तालाई वर्षाैंसम्म आशा देखाएर झुलाइरहने काम नेताबाट हुँदै आएको छ । तल्लो तहका धेरै नेता कार्यकर्ताको जीवन बर्बाद भइरहेको छ । जनतालाई झुटा आश्वासन दिने कामबाहेक नेताहरूले सिन्को भाँचेका छैनन् । नेताहरूको यस्तो प्रवृत्ति कायमै छ । नेताहरूले जनताले दिएको भोटको अपमान गरिरहेका छन् । जनताको भोटमार्फत सत्तामा पुग्छन् अनि सत्तामा पुगेपछि सबै कुरा बिर्सन्छन् । आफ्नो निजी स्वार्थमा लाग्छन् । अकुत सम्पति आर्जन गर्छन् । के यही हो राजनीति ?

जनताको जीवनमा कहिले परिवर्तन आएन । अहिले समाजका हरेक क्षेत्रमा आर्थिक अनियमितता भ्रष्टाचार एवं सेटिङका समाचार आउने गरेका छन् । यसतर्फ कसैको चासो, चिन्ता छैन । वर्तमान नेपाली समाजमा महामारी व्याधीका रूपमा रहेको कोरोना कहरको त्रास मात्र छ । तेस्रो लहर आयो भने कसरी सामना गर्ने ? जनतामा यो चिन्ता छ । नेपाली जनतालाई हरेक समस्याले सताइरहेको छ । देशलाई कसरी स्वाधीन र आत्मनिर्भर बनाउने भन्ने चिन्ता नेतामा छँदै छैन । खाली चर्को भाषण गर्ने होडबाजी मात्र छ । यसरी देश बन्दैन र बनाउन पनि सकिँदैन । सुखी नेपाली र समृद्ध नेपाल कसरी बन्छ भन्ने विषयमा कसैलाई चासो छैन ।

यो बिषयमा छलफल हुनै छाड्यो । आफू सत्तामा कसरी पुग्ने र ढुकुटी कसरी रित्याउने भन्ने बाहेक दल र तिनका नेतामा अरू चिन्ता देखिएन । यस्तै जालसाजी कपटपूर्ण एजेन्डाका बैठकमा नै सबै दल केन्द्रित छन् र सबै जनता कार्यकर्ता त्यसैको पछि लागेर हिँडिरहेको देखिन्छ । केबल भाषण ठोक्ने र जनतालाइ झुठा आस्वासन दिनेबाहेक नेताले केही गरेनन् । यस्तो राजनीतिक संस्कारबाट हामीले के सिक्ने ? सभ्य समाज, सामुदायिक कल्याण र सामुदायिक सोचाइका लागि असल नागरिक पहिलो सर्त हो । असल मानिस हुनु भनेको असल व्यवहार हुनु हो । समाज विकासको अनन्त प्रक्रियामा राज्य मात्र होइन, नागरिक समाजका अंग तथा असल मानिस पनि उदाहरणीय रूपमा अग्रसर हुनु आवश्यक छ । सबै राजनीतिक संस्कार र संस्कृति निर्माणसँग सम्बन्धित रहन्छन् । सिर्जनात्मक आलोचना र संवादले संस्कार निर्माणमा सहयोग पुर्याउँछ । अब सभ्य समाज निर्माणका निम्ति असल कार्य गर्ने समुदायको सक्रियताको मात्र खाँचो छ । हामी सभ्य समाजका लागि सचेत मात्र छौँ, सक्रिय हुन सकेका छैनौँ । सिंगो नेपाली समाज एकजुट भएर भोगेका देखेका विकृति र विसंगतिको अन्त्यका लागि दबाब सिर्जना गर्न सकेको अवस्था छैन ।

नेपालको राजनीति सही बाटोमा जाने र सरकार स्थिर रहने हो भने देश विकासको गति अघि बढन सक्छ । नेपालको भौगोलिक अवस्था मिलेको छ । देश विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा सबै दलको एक मत हुन जरुरी छ । नेपालजस्तो भौगोलिक अवस्था र भू–परिवेष्ठित अल्पविकसित देशको विकासका लागि दलहरूमा इच्छा शक्तिको मात्र खाँचो छ । दलहरू देश विकासका लागि सत्ता स्वार्थको राजनीति छाडेर जानुपर्ने हुन्छ । एकले अर्कोलाई सिध्याउने खेल मात्र खेलेर देश विकास गर्न सकिन्न । देश विकास गर्न दलहरू एकआपसमा मिल्नुपर्छ । सबैको प्रयासले मात्र देश बनाउन सकिन्छ । एक्लै केही गर्छु भनेर मात्र हँुदैन । देश विकासका लागि सबैभन्दा पहिला भष्टाचार अन्त्य हुनुपर्छ । भ्रष्टाचार हुने देशमा विकास हुन कठिन हुन्छ । भष्टाचार देश विकासको बाधक हो । कर्मचारीदेखि नेता मन्त्रीसम्म भष्टाचारी भएपछि कसरी देशको विकास हुन्छ ? यो नै गम्भीर प्रश्न हो । हामीलाई दक्ष जनशक्तिको आवश्यकता छ । नेपालको जनशक्ति विदेश पलायन छ । यो दुःखद् पक्ष हो । समयअनुसार हामी अघि बढन सकिरहेका छैनौँ । नेपाली जनशक्ति विश्वबजारमा छरिएर रहेको छ । नेपालको जनशक्ति विदेशमा शारीरिक श्रम गर्नेमा सीमित रहेको छ । त्यसकारण जबसम्म देशको जनशक्ति दक्ष हुँदैन, तबसम्म देश विकास हुन सक्दैन । नेपालको विकासको प्रमुख सूत्र भनेको दक्ष जनशक्ति उत्पादन हो । देश विकासका लागि पहिलो सर्त भनेको राजनीतिक स्थिरता हो । देशमा राजनीतिक स्थिरता भएन भने विकासको गतिलाई अघि बढाउन गाह्रो हुन्छ ।

नेपालमा पटकपटक सरकार परिवर्तन हुनाले धेरै समस्या निम्तिएका छन् । राजनीतिक स्थिरतामा मात्रै देश विकास सम्भव छ । अस्थिर सरकारले न त दीर्घकालीन विकास गर्ने नीति ल्याउन सक्छ, न त विकास निर्माण गर्न नै सक्छ । त्यसकारण नेपालको विकासका लागि राजनीतिक अस्थिरता नै प्रमुख बाधक बनेको छ । हामी प्राकृतिक स्रोत साधनका हिसाबले धेरै सम्पन्न छाँै । नेपाललाई प्रकृतिले साथ दिएको छ । तर, यस्ता प्राकृतिक स्रोत साधनलाई प्रयोग गर्न सकिरहेका छैनौँ ।

प्रतिक्रिया