अमेरिकाविरुद्ध अर्को जितको योजनामा नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले भोलि शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल अर्को जितको खोजीमा हुनेछ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ ।

पहिलो भेटमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । अमेरिकाविरुद्ध नेपालको त्यो ह्याट्रिक जित समेत हो । लिग टु–२ अन्तर्गत नै नेपालले २०२० मा घरेलु मैदानमा अमेरिकालाई दुई खेलमा हराएको थियो ।

र, मंगलबार भएको खेलमा नेपाल घरेलु टिम ओमानविरुद्ध ५ विकेटले नै पराजित भएको थियो । ओमानसँगको हारपछि कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्ध कमीकमजोरी सुधार गर्ने लक्ष्य रहेको बताएका थिए । उनले ओमानविरुद्ध उच्च रन बनाउन नसकेको भन्दै आउने खेलमा त्यसमा ध्यान दिने बताएका थिए ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १३ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अमेरिकाले आज बिहीबार ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । ओमान ११ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लिग–२ विश्वकप छनोटको एक रुप हो । सात टोली रहेको लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया