हवाई यात्रुले मात्रै सार्छन कोरोना ?

कमल सापकोटा

दक्षिण कोरियामा तीन वर्षे अध्ययन अनुसन्धानको समाप्तीपश्चात विद्यावारिधिको प्रमाण पत्र बोकेर हर्सोल्लासपूर्ण मनोभावसहित गत साता आफ्नो मातृभूमि फर्कने क्रममा देखेका र भोगेका केही अनुभूतिहरू यहाँहरू माझ बिसाउन मन लाग्यो । दक्षिण कोरियामा कोरोना फैलावट रोक्न सशक्त र कडा प्रावधानहरू छन् तर ती प्रावधानहरूले सर्वसाधारणहरूलाई सकेसम्म कम अप्ठ्यारो पारोस् भन्नेमा नीति निर्माताहरू सचेत छन् । जनताको विरोध भएमा तुरुन्तै नियमहरू परिमार्जन गरिन्छ । यो पंक्तिकारले पनि नियम संगत तरिकाले सबै तयारी गरी यात्रा सुरु ग¥यो । यही यात्राका क्रममा प्राप्त केही रोचक अनुभूतिहरू यहाँ प्रस्तुत छन् ।

सिंगापुर एअरलाइन्सको बिमानबाट दक्षिण कोरियाबाट सिंगापुरसम्म आउँदा विमान चालकगणबाट आउने सूचना तीन वटा भाषामा अंग्रेजी, कोरिएन (कोरियाको राष्ट्रभाषा) र अर्को एउटा; सायद त्यो मलय (सिंगापुरको राष्ट्रभाषा) थियो । विमानभित्र सिटहरूमा एक सिटमा यात्रु र एक सिट खाली राख्दै एउटा ‘रो’मा जम्मा तीन यात्रु मात्र राखेर कोरोना फैलावटविरुद्ध सुरक्षा मापदण्ड लागू गरिएको थियो । विमान परिचारिकाहरूले यात्रुलाई गर्ने व्यवहार पनि निकै आदरपूर्ण थियो । खानाको गुणस्तर र अन्य सुविधा पनि स्तरीय थिए ।

त्यही विमान कम्पनीको जहाजमा सिंगापुरदेखि काठमाडौंको उडानमा भने धेरै फरक देखियो । चालक गणबाट आउने सूचनाहरू अंग्रेजी भाषामा मात्र थिए (यात्रुहरू लगभग सबै नेपाली मात्र भए पनि नेपाली भाषामा सूचनाको आश गर्नु बेकार थियो) । विमानका सबै सिटहरूमा यात्रु खचाखच थिए, कुनै सिट खाली थिएन; अथवा भनौँ अघिल्लो उडानको मापदण्ड यहाँ लागू गरिएको थिएन । खानाको व्यवस्था पनि तुलनात्मक रूपमा कमजोर थियो भने अन्य सुविधामा पनि कटौती गरिएको थियो । सूचनाहरू अंग्रेजीमा मात्र आउँदा मलाई लाग्यो, ‘यिनिहरूले हामीलाई महत्व नदिँदा रहेछन् वा हेप्दा रहेछन् ।’ तर काठमाडौंमा विमान अवतरण गरिसकेपछि एकजना नेपाली अधिकारीको उद्घोषण सुनेपछि भने जिल्ल परियो । उहाँको रवाफपूर्ण एवं आदेशात्मक उद्घोषण अंग्रेजी भाषामा मात्र थियो, लाग्थ्यो हामी अंग्रेजी मातृभाषा भएको देशमा अवतरण भएका छौँ । उहाँको आदेश कति नेपालीले बुझे, कतिले बुझेनन् थाहा भएन तर हामीलाई के कारणले विदेशीले हेप्ने रहेछन्, त्यो चाहिँ राम्रैसँग बुझियो ।

सहरहरूमा भिडभाड छ, सभाजुलुस चलेकै छन्, बसमा कोचाकोच गरेर सर्वसाधारणहरू यात्रा गरिरहेकै छन्, नाटकहरू मञ्चन भइरहेकै छन्, भोज–भतेरहरू चलेकै छन्, समूहमा मानिसहरू हिँडेकै छन्, सबै खुला छन् । केही कुराको प्रवाह गरेको जस्तै लाग्दैन । तर, हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुलाई भने अनौठो प्रावधान छ । हवाइजहाजबाट तपाईं नेपाल आउँदै हुनुहुन्छ भने तपाईंले कोरोना सार्नुहुन्छ भनेर तपाईंलाई सा दिनसम्म होटेलमा राख्नेछन्, तपाईंकै खर्चमा ।

आफ्नो देशमा पाइला टेकीसकेपछिका सास्तीहरू भने अझ पीडादायी एवं रोचक रहे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गृह प्रस्थान गर्नुअघि नाम ठेगाना रुजु गर्न दिएको राहदानी नेपाल प्रहरीका अधिकारीले होटेल सञ्चालकलाई थमाउँदै भने, ‘तपाईं उहाँको होटेलमा जाने हो । अहिले तपाईं उहाँको होटेलमा जानुहोस्, क्वारेन्टिन अवधि सकिएपछि राहदानी होटेल सञ्चालकबाट लिनुहोला ।’ मेरो लागि घरमा एकान्त वास (क्वारेन्टिन) को लागि सुरक्षा मापदण्ड पूर्णरूपमा पालना हुने गरी छुट्टै कोठाको व्यवस्था गरिएको थियो तर मलाई कोरोनाको खोप नलगाएको निहुँमा घरमा जान दिइएन । कोरियालगायत अन्य देशहरूमा भने यस किसिमको पक्षपाती व्यवस्था छैन । खोप लगाएको वा नलगाएको जे भए पनि अनिवार्य एकान्तवास बस्नुपर्छ, सुरक्षित तरिकाले आफ्नै घर वा वासस्थानमा । यी देशहरूको यस्तो व्यवस्था वैज्ञानिक पनि छ किनभने खोप लगाएका व्यक्तिहरूले पनि भाइरस सारेका यथेस्ट प्रमाणहरू छन् । त्यसैले सबैले लामो यात्रापछि केही समय सुरक्षा मापदण्डको पालना गर्नु आफ्नो तथा परिवार र अन्य सबैको सुस्वास्थ्यको लागि उचित हो ।

तर, यात्रुको अनुरोधको कुनै वास्ता नगरी होटेलमा जानको लागि यो पंक्तिकारलगायत अन्य केहीलाई जबर्जस्ती एउटा ट्याक्सीमा बस्न लगाइयो । निमुखा हामीसँग अरू विकल्प थिएन । त्यसैले ट्याक्सीमा बसियो र आफ्ना पीडा ट्याक्सीका चालकसँग पोख्यौँ, ‘राहदानीजस्तो नितान्त निजी एवं संवेदनशील बस्तुसमेत लगिएको छ । कसले किन लगे थाहा छैन, फिर्ता माग्दा दिएनन् । त्यसको दुरुपयोग भए, जिम्मेवार को हुने ? कोरियाबाट नेपालको लागि प्रस्थान गर्नुभन्दा अघिल्लो दिन गरेको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ थियो, यात्राको क्रममा पूर्ण सावधानी अपनाइएको छ, यदि यही होटेलको माध्यमबाट कोरोना सरे वा त्यसले क्षति पुर्याए, त्यसको जिम्मेवार को ? घरबाट गर्नुपर्ने निकै महत्वपूर्ण कामहरू थिए, जो होटेलबाट गर्न सम्भव छैन । यस्तो अवस्थाको जिम्मेवार को ?’

यो पक्षपाती र अन्यायपूर्ण व्यवस्थाबाट ट्याक्सीचालक पनि रुष्ट रहेछन् । उनले आफ्नो अनुभव यसरी सुनाए, ‘हाम्रो देशमा नियम जनतालाई सास्ती दिने र व्यवसायी पोस्ने उद्देश्यले बनाइएका छन् । यसबाट लाभ लिनेहरू पर्यटन व्यवसायी, होटेल व्यवसायीदेखि लिएर सरकारी उच्च ओहोदा सम्मकाले आफ्नो गच्छे अनुसारको भाग पाउँछन् । अझ बढी दुःख र मिहिनेत गर्ने तर भागमा कम पर्ने त यी होटेल व्यवसायीहरू हुन् । देशमा अरू सबै खुल्दा हवाई यात्रुलाई मात्र कडाइ गर्नुको कारण उनीहरूसँग पैसा हुन्छ भन्ने सोच हो । हवाई मार्ग प्रयोग गर्नेहरू अधिकांश रूपमा कि त विदेशमा जागिर गरेर पैसा कमाउने (लाहुरे) हुन्छन् कि त विदेशमा अध्ययन गरेर फर्केका विद्यार्थी हुन्छन् । जे होस् यिनीहरूसँग धेरथोर पैसा हुन्छ भन्ने लुट्न पल्केका सबैको दिमागमा छ । त्यसैले सबै क्षेत्रहरू खुला हुँदा पनि हवाई यात्रामा आपत्तिजनक प्रावधान राखेका छन् ।’

उनले अगाडि थपे, ‘तपाईंहरू त सोझो हुनुहँुदो रहेछ । धेरैजसो यात्रुहरू होटेल वालालाई अलिअलि पैसा बुझाएर बाटैबाट टाप कस्छन् । यहाँ न कुनै अनुगमन छ, न कुनै पालना । तपाईंहरूसँग अझै समय छ , सात दिन तपाईं होटेलमा बस्दा हुने होटेलको बिल बराबर रकम तपाईंले आजै भुक्तानी गर्नुभयो भने तपाईंलाई होटेलले आजै छाड्छ ।’ ट्याक्सी चालकले आवेग वा उत्तेजनामा यी कुरा बोलेका हुन् भन्ने ठाउँ पनि होला तर उनको भनाइलाई सही मान्न सकिने केही यथार्थहरू पनि छन् । देशमा सडक यातायात, पसल, होटेललगायत सबै खुला भइसकेका छन् भने भारतसँगका सबै नाकाबाट निर्वाद आवतजावत सुरु भइसकेका छन् । सहरहरूमा भिडभाड छ , सभाजुलुस चलेकै छन्, बसमा कोचाकोच गरेर सर्वसाधारणहरू यात्रा गरिरहेकै छन्, नाटकहरू मञ्चन भइरहेकै छन्, भोज–भतेरहरू चलेकै छन्, समूहमा मानिसहरू हिँडेकै छन्, सबै खुला छन् । केही कुराको प्रवाह गरेको जस्तै लाग्दैन । तर, हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुलाई भने अनौठो प्रावधान छ ।
हवाईजहाजबाट तपाईं नेपाल आउँदै हुनुहुन्छ भने तपाईंले कोरोना सार्नुहुन्छ भनेर तपाईंलाई सात दिनसम्म होटेलमा राख्नेछन्, तपाईंकै खर्चमा । तपाईंलाई गाह्रो भयो, बिरामी पर्नुभयो वा अन्य कुनै समस्या प¥यो भने पनि कसैले सुन्नेवाला छैन । फेरि होटेल सञ्चालकले कोरोना फैलावट रोक्न कुनै मापदण्ड पालना गर्नुपर्ने वा सावधानी अपनाउनु पर्दैन है, जस्तो गरे पनि कसैले अनुगमन गर्दैन । तर अरू जे भए पनि दोषचाहिँ हवाईजहाजबाट यात्रा गरी नेपाल आउनेको हुनेछ । आखिर के का लागि ?

यो पंक्तिकार रहेको होटेलको अनुभव पनि चाखलाग्दो छ । होटेलको व्यवस्थापन जिल्ल पार्ने किसिमको थियो । कोरोना भाइरस फैलावट रोक्न आवश्यक कुनै पनि मापदण्डको ख्याल गरिएको थिएन । होटलका प्रबन्धक, भान्से, सहयोगी, अन्य कर्मचारी कसैले पनि मास्क लगाएका थिएनन् । उनीहरू बीचमा भौतिक दुरीको कुनै ख्याल गरिएको थिएन । होटेलको स्वागत कक्षमा मानिसहरू गिरिम्म गरेर बसेका थिए, कोरोनाको कुनै प्रवाह थिएन । अब यस्तो अवस्थामा कुनै एक जनामा कोरोना संक्रमण भएको खण्डमा अन्य जो कोहीलाई पनि सर्न सक्थ्यो । अझ उदेकलाग्दो घटना त बेलुकाको खाना खाने समयमा भयो । खाना खानको लागि चम्चा माग्दा होटलका एकजना कर्मचारी (वेटर) ले चम्चा गोजीबाट निकालेर दिए । उनका दुवै हातमा खानाका थाल हुने भएकाले चम्चा चाहिँ गोजीमा बोक्ने रहेछन् । कोरोना सर्न सक्ने सम्भाव्य कारणहरू सम्भेmँ, अनि आफ्नो अगाडिको दृश्य तुलना गरेँ ।

कोरोनाको फैलावट नियन्त्रण गर्ने निहुँमा राखिएको होटेलबाट स्वस्थ्य व्यक्तिमा पनि कोरोना संक्रमण हुने तीव्र सम्भावना थियो । स्वस्थ खाना तयार गर्न, पस्कन तथा वितरण गर्नका लागि सम्बन्धित व्यक्तिले अनिवार्य रूपमा मास्क लगाउनु, हातमा प्लास्टिक वा रबरको पन्जा लगाउनु र ताप वा सुरक्षित तरिकाले निर्मुलीकरण गरिएका भाँडाहरूमा खाना राखेर दिनु, आदि अनिवार्य पालना गर्नुपर्ने सर्तहरू हुन् । वास्तवमा यस किसिमको क्वारेन्टिनले कोरोना संक्रमण रोक्नुको सट्टा बढाउँछ । यसको लागि सबैभन्दा राम्रो विकल्प होम क्वारेन्टिन हो । केही समय पहिले देशमा कोरोना संक्रमण दर उच्च भएको बेलामा सरकारले संक्रमित तर जटिल लक्षण नभएकालाई घरमै रही उपचार गराउने सल्लाह दिएको थियो र त्यो उपयोगी पनि सिद्ध भएको थियो । कोरोना संक्रमणलाई प्रभावकारी तरिकाले नियन्त्रण गरेका देशहरूमा पनि होम क्वारेन्टिनलाई अनुगमन एवं दण्ड सजायका माध्यमबाट व्यवस्थित गरी बढावा दिएका हुन्छन् । होटेल क्वारेन्टिन सकेसम्म हुँदैन र भए पनि एकदम व्यवस्थित एवं नियन्त्रित हुन्छ । विदेशी भूमीमा प्रस्ताव गरिएका आकर्षक सुबिधा सहितका अवसरहरूको मतलव नगरी आफ्नो मातृभूमीलाई मन मस्तिस्कमा राखेर आफ्नो देश फर्केका हामीजस्ता नागरिकलाई त यति मन दुख्यो भने आफ्नो देशलाई गाली गरेर विदेश भासिन खोज्नेहरूलाई यस्ता व्यवहारहरूले झन् कस्तो असर गरेका होलान् ?

प्रतिक्रिया