फ्रान्समाथि ब्राजिलको रोमाञ्चक जित

टोकियो । ओलम्पिक अन्तरगतको पुरुष भलिबलमा ब्राजिलले फ्रान्समाथि रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा ब्राजिलले फ्रान्समाथि ३–२ को सेटमा रोमाञ्चक जित निकालेको हो । पहिलो सेट ब्राजिलले २५–२२ ले आफ्नो पक्षमा पारेपनि रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट फ्रान्सले ३९–३७ ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा ल्याएको थियो । तेस्रो सेट ब्राजिलले २५–१७ ले सहजै आफ्नो पक्षमा पारेपनि चौथो सेट २१–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो ।

निर्णायक सेटमा एक समय ब्राजिलले ७–४ को अग्रता लिएपनि धैयर्ता गुमाउँदा १२–१३ ले पछि परेको थियो । तर, उत्कृष्ट पूनरागमन गर्दै पाँचौ सेट ब्राजिलले २०–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा ब्राजिलले स्पाइकबाट ७९, ब्लकबाट १५ र सर्भिसबाट २ अंक जोड्दा विपक्षीको गल्तीबाट ३२ अंक पाएको थियो । फ्रान्सले स्पाइकबाट ७६, ब्लकबाट १३ र सर्भिसबाट १ अंक जोड्दा विपक्षीको गल्तीबाट ३१ अंक पाएको थियो ।

यसअघि नै क्वाटरफाइनलमा स्थान बनाइसकेको ब्राजिलको जितपछि ५ खेलबाट १० अंक पुगेको छ । पराजित फ्रान्सको ८ अंक छ । यो समूहबाट ब्राजिलसँगै रसियन ओलम्पिक कमिटि (आरओसी) र फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् । यही समूहको अर्काे खेलमा अमेरिका र अर्जेन्टिनाबीचको विजेताले अन्तिम आठमा स्थान बनाउनेछ । आइतबारै भएको अर्काे खेलमा पोल्यान्डले क्यानडालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ । एकपक्षीय खेलमा पोल्यान्डले क्यानडामाथि २५–१५, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरेको छ । जितपछि पोल्यान्डले ५ खेलबाट १४ अंक जोड्यो । पराजित क्यानडा ७ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया