अजितले वल्ड च्याम्पियनसिप र फेडेरेसन कप खेल्ने

काठमाडौं । एसियाली युथ एथलेटिक्स च्याम्पियनसिप अजित कुमार यादवले झन्डै चार साताको अन्तरमा दुई जुनियर च्याम्पियनसिप खेल्ने भएका छन् । अजितले ३१ जुलाईदेखि २ अगस्टसम्म भारतको पञ्जावमा हुने यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) र १७ देखि २२ अगस्टसम्मा केन्याको नौरबीमा हुने यु–२० जुनियर एथलेटिक्स वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको नेपाल एथलेटिक्स संघले जनाएको छ ।

अजितले अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा १५ सय मिटरमा तथा वल्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । संघले उनलाई सोमबार नै बिदाई गरेको छ । हङकङपछि नै उनको यो पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिप हुनेछ । उनी बुधबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । च्याम्पियनसिप नजिकिदै गर्दा उनले रंगशालामा गएरै राम्रोसँग प्रशिक्षण गर्न नपाएपनि १५ सय मिटर दौडमा कीर्तिमान बनाउने लक्ष्य रहेको बताएका छन् ।

‘बिहानै रंगशाला गयो, त्यहाँको सुरक्षा गार्डले पत्र खोई भनेर सोध्छ, नभए फर्कनु भन्छ । हामीले कहाँबाट पत्र ल्याउने हो । त्यो पनि थाहा छैन ।’ अजितले भने, ‘प्रशिक्षक र उनीहरुलाई लाखौ अनुरोध गरेपछि मुस्किलले तीन देखि चार दिन रंगशालामा गएर प्रशिक्षण गर्ने अवसर पाए । रंगशालाको सेक्युरिटी इन्चार्जले पत्र नभए नआउनु भन्नुभएको छ । कस्तो पत्र ल्याउनुपर्ने हो केही थाहा छैन । कहाँ गएर प्रशिक्षण गरौं ।’
यस्तो अवस्थामा उनले आफु बस्ने लगनखेल वरपरकै खुल्ला सडकमा आफ्नो नियमित प्रशिक्षणलाई त्यागेका छैनन् । ‘रंगशाला प्रवेश गर्न दिएन भनेर भएन । आफुलाई फिट त राख्नै प¥यो । भारतमा खेल्न ठीकै होला केन्यामा हाइ अल्टिच्युडमा खेल्नुपर्नेहुन्छ । त्यसलाई मध्यनजर गर्दै प्रशिक्षण गर्ने प्रयास गरिरहेको छु ।’ अजितले भने ।

अजितले २०७५ चैतमा हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा स्वर्ण जितेको आधारमा केन्यामा खेल्ने मौका पाएको हो । जुन नेपाल एथलेटिक्स इतिहासमा ४५ वर्षपछिको पहिलो ऐतिहासिक पदक थियो । उनले निर्धारित दुरी ८ मिनेट ३०.२ सेकेन्डमा पुरा गरेका थिए । जुन उनको जुनियरमा समेत कीर्तिमान थियो ।

जुनियरमा पनि उनले विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमो ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियरमा भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।

स्वास्थ्यमा एक्कासी समस्या आएपछि अजितले २०७६ मंसिरमा स्वदेशमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) गुमाएका थिए । तीन महिनाको विश्रामपछि एथलेटिक्स ट्रयाकमा फर्किएका उनले त्यसपछि विभिन्न ५ प्रतियोगितामा च्याम्पियन बन्दै आफ्नो साखमा फर्किएको संकेत दिएको थियो ।

उनले नेपालगन्जमा आयोजना भएको नेपालगन्ज म्याराथन अन्तरगतको १० किलोमिटर दौडमा स्वर्ण, बन्दिपुरमा १० किलोमिटरमै स्वर्ण, हेटौडामा १० किलोमिटरमै स्वर्ण, काठमाडौं म्याराथनको ५ किलोमिटर दौडमा स्वर्ण र मदन भण्डारी स्मृति ५ किलोमिटर ठमेल रोड रेसमा स्वर्ण जितेका थिए । त्यसपछि कोरोना महामारीले विश्वव्यापी रुप लिदा र त्यसको असर नेपालमा पनि पर्दा कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय च्याम्पियनसिप हुन सकेको छैन ।

प्रतिक्रिया