स्पेनमा हुने भनिएको त्रिकोणात्मक विश्वकप क्रिकेट खेल स्थगित

काठमाडौं । स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

कोभिड–१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षको लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो । क्यानका सचिव प्याकुरेलका अनुसार सिरिज सन् २०२२ जुलाईसम्मका लागि स्थगित भएको छ ।

उक्त प्रतियोगिताका लागि नेपालले यही असार ८ गतेदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो । लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अंक जोडेको छ ।

नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । बाह« खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया