‘आईसीटी अवार्ड २०२१’ को अनलाइन नोमिनेसन सुरु

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आईसीटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेसन सुरु भएको छ । लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा आयोजना हुने ‘आईसीटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधामा अवार्डको नोमिनेसन खुला गरिएको हो ।

दोस्रो लहरको कोभिड संक्रमण दर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आईसीटी अवार्ड २०२१ को अनलाइन नोमिनेसन खुला गरिएको छ । गत वर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आईसीटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेसन र छनोट प्रक्रिया अघि बढाउँदै डिसेम्बर २३, २०२० मा सोल्टी होटलमा विशेष कार्यक्रममार्फत १२ विधाका विजेतालाई सम्मान गरिएको थियो ।
यस वर्षको आईसीटी अवार्डमा अधिकांश छनोट समितिका मिटिङ भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । आईसीटी अवार्डको छनोट प्रक्रियाका लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकार रहेका छन् । विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाले साउन १६ सम्म आवेदन दिन सक्नेछन् ।

यस वर्ष गत वर्षझैं विभिन्न ११ विधामा नोमिनेसन खुला गरिएको छ । स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी तीन विधा स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधा रहेका छन् । व्यक्तिलाई प्रदान गरिने अवार्डमा पायोनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड छन् ।

प्रतिक्रिया