काठमाडौँ । संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको छ । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभिएन)ले अरुण तेस्रोबाट उत्पादन हुने बिजुली उत्तर प्रदेशमा बिक्री गर्न सम्झौता गरेको हो ।
भारतले यसअघि नै भारतीय कम्पनीबाट उत्पादित बिजुली खरिद गर्ने जनाइसकेको छ । एसजेभिएनले भारतको उत्तर प्रदेश विद्युत् निगम लिमिटेड (युपिपिसिएल)सँग मंगलबार सो सम्झौता गरेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । सम्झौतामा एसजेभिएनका प्रमुख महाप्रबन्धक (पावर ट्रेडिङ) आरके गुप्ता र युपिपिसिएलका कर्पोरेट योजना निर्देशक दीपक रायजादाले हस्ताक्षर गरेका छन् ।
कम्पनीले भारतकै हिमाचल प्रदेशमा निर्माणाधीन २१० मेगावाट लुहरी स्टेज–१ र ३८२ मेगावाट सुनी ड्याम जलविद्युत् परियोजनासँगै अरुण तेस्रोको विद्युत् खरिद गर्न युपिपिसिएलसँग पिपिएमा हस्ताक्षर गरेको जनाइएको छ ।
एसजेभिएनको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एसजेभिएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी प्रालिले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । हाल तीव्र गतिमा काम भइरहेको यो आयोजना सन् २०२७/२८ सम्ममा सञ्चालनमा आउने लक्ष्य राखिएको छ । आयोजनाको लागत १ खर्ब ४४ अर्ब रुपैयाँ छ ।
प्रतिक्रिया