काठमाडौँ । आगामी असोजमा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रमको रूपमा परिचित पावर समिट, २०२५ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आयोजनामा पावर समिट असोज १ र २ मा काठमाडौँमा हुन लागेको हो ।
नेपालको ऊर्जा उत्पादनको ११४ वर्षको इतिहासमा ३ हजार ६०० मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पु¥याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व हो भन्ने महसुस गरी यही नाराका साथ नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारीका साथै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था, निकाय र कम्पनीहरूको सहभागितामा बृहत् रूपमा यो समिट आयोजना गर्न लागिएको इप्पानले जनाएको छ ।
यो पावर समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको नवौँ संस्करण भएको इप्पानले जनाएको छ । ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पु¥याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा व्यापार गर्न÷गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरू, कूटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरू, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनि भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरूकोबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्य समिटले राखेको छ ।
यस वर्षको सम्मेलनले सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गरी नीतिगत बहस, हासिल भएका सफलता तथा उपलब्धि र अनुभवहरूको आदानप्रदान गर्ने जमर्को गर्ने जनाइएको छ । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, सरकारी संघ संस्थाका उच्चअधिकारीहरू, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रका सरोकारवालाहरू गरी विगतका सम्मेलनको जस्तै १ हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।
विशेष गरी ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएको नेपाल र दक्षिण एसियाली देशहरूको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत् र कार्बन व्यापारसँगै नवीनतम वित्तीय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधारहरू निर्माणमार्फत क्षेत्रीय सम्पर्क विस्तार, नेपाल र दक्षिण एसियाली मुलुकहरूको नेट जिरो इमिसनको लक्ष्य हासिल, दिगो र समावेशी ऊर्जा विकासजस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोलाई सम्बोधन गरी नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रूपमा चिनाउने थलो समिट बन्ने इप्पानले अपेक्षा गरेको छ ।
समिटमा हुने आन्तरिक तथा वाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र न्यूनीकरणसँगै प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणजस्ता चुनौतीहरूको सामनाका लागि नेपाल र अन्य देशहरूले बनाउनुपर्ने नीति निर्माणसँगै विश्वका विभिन्न देश र विकास साझेदारहरूको अनुभव र अभ्यासहरूको बारेमा समेत समिटमा छलफल हुनेछ । यी मुद्दा र विषयमा केन्द्रित हुने समिटले नेपालको दिगो ऊर्जा विकास र क्षेत्रीय बजारमा दरिलो उपस्थितिका लागि अबको बाटो पहिल्याउने गरी ठोस सुझाव र मार्ग निर्देशन प्राप्त हुने र यसले क्षेत्रीय बजारमा नेपालको ऊर्जालाई प्रतिष्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालको कुल ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी छ । बहुदलीय प्रजातन्त्रपछि ऊर्जामा निजी क्षेत्रलाई खुला गरेसँगै नेपाल सरकारले अघि सारेको लगानीमैत्री नीतिकै कारण नेपालको कुल उत्पादन क्षमता ३ हजार ६०२ मेगावाट पुग्दा २ हजार ९०० मेगावाट विद्युत निजी क्षेत्रबाट उत्पादन भइरहेको छ ।
हालसम्म निजी क्षेत्रले १३ खर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ भने ५० खर्ब रुपैयाँ लगानीको लागि तम्सिएको छ । निजी क्षेत्रकै अगुवाइमा ४ हजार २०० मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको र ४ हजार १०० मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको तथा नेपाल सरकारले आगामी १० वर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको परिपेक्ष्यमा आगामी असोजमा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको रूपमा परिचित पावर समिट, २०२५ आयोजना हुन लागेको हो ।
२ प्रसारण लाइन निजी कम्पनीले बनाउने
काठमाडौँ । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबिसे २२० केभी प्रसारण लाइन निजी क्षेत्रको सहभागितामा निर्माण गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरूबीच सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको छ । ग्रिड कम्पनीका सचिव राजेश पोखरेलले निजी क्षेत्रको सहभागितामा यी २ प्रसारण लाइन निर्माण गर्न निजी क्षेत्रका ऊर्जा प्रवद्र्धक कम्पनीहरूसँग सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका हुन् ।
यसअघि नै हाइटार–शीतलपाटी ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणका लागि २ निजी कम्पनीले आवेदन इिसकेका छन् । परियोजना निर्माणका लागि ती कम्पनीहरूले कति प्रतिशत सेयर हाल्ने र ग्रिड कम्पनीको कतिप्रतिशत सेयर रहने विषयको छलफल अन्तिम चरणमा रहेको पोखरेलले बताए ।
यसअघि हाइटार–शीतलपाटी प्रसारण लाइन निर्माणका लागि छुजुङ खोला जलविद्युत् आयोजना, तल्लो बरुण खोला, बकान खोला जलविद्युत् आयोजना र ६३ मेगावाट क्षमताको अर्को छुजुङखोला जलविद्युत् आयोजनाले यसअघि नै आवेदन दिइसकेका छन् ।
त्यसैगरी लामाबगर–बाह्रबिसे प्रसारण लाइन निर्माणका लागि नासा कम्पनी लिमिटेडअन्तर्गतको १६० मेगावाट क्षमताको ल्याप्चेखोला जलविद्युत् आयोजना र सानिमा हाइड्रोपावरअन्तर्गतको जुमखोला जलविद्युत् आयोजनाले आवेदन दिएका छन् ।
प्रतिक्रिया