विद्यालय जान छाडे दलित समुदायका बालबालिका

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिका–५ चिसापानीका शान्त विक १५ वर्षका भए । यो उनको माध्यमिक तहको पढाइ पूरा गरिसक्ने उमेर हो । तर, उनले कक्षा ९ बाटै पढाइ छोडेर चार वर्षदेखि ट्रयाक्टरमा सामान लोडअनलोड गर्ने काम गरिरहेका छन् । साथीले पढाइ छोडेको देखेर आफूले पनि पढ्न छोडी कमाउनतिर लागेको उनले बताए । ‘गाउँको मेरो उमेरका सबै साथी काम गरेर पैसा कमाउछन्’, उनले भने, ‘मैले पनि पैसा कमाउन पढाइ छोडी काम गर्ने सुरु गरेँ ।’ ट्याक्टरमा काम गरे बापत उनले महिनाको १० हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । ‘आफूलाई खान लगाउन आफँैले कमाएको पैसाले पुग्छ’, शान्तले भने, ‘कमाएको पैसा घर खर्चको लागि पनि दिने गर्छु ।’

उनीसँगै उनका १४ वर्षीय भाइ पुष्कर विक पनि ट्रयाक्टरमा काम गर्छन् । कक्षा ५ मा पढ्दै गरेका पुष्कर पढ्न छोडेर ट्रयाक्टरमा काम गर्ने थाले । आफ्नै दाइले पढ्न छोडेको देखेर आफूलाई पनि पढ्न मन नलागेको उनले बताए । यस्तै उक्त स्थानका प्रदीप विकले पनि कक्षा २ बाटै आफ्नो पढाइ छोडे । सानैमा बुबा बित्नु भएपछि पढ्न मन नलागेको उनले सुनाए । गाउँकै दाइले चलाउने ट्रकमा सामान लोड गर्ने काम सुरु गरेको उनले बताए ।

चिसापानीमा १४ घरपरिवारको दलित वस्ती छ । १७ जनाभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका छन् । अधिकांश बालबालिका विद्यालय जाँदैनन् । आफ्नो बच्चालाई बारम्बार विद्यालय पठाउँदासमेत बीच बाटोबाट फर्किने गरेको स्थानीय विष्णु विकले बताइन् । ‘छोरालाई विद्यालय पठाको छ । ऊ बीच बाटोबाट कहाँ जान्छ थाहै हुन्न’, उनले भनिन्, ‘जति सम्झाउँदा पनि मान्दैन ।’ गाउँका १० वर्ष माथिका सबै बच्चा गाडी, होटेललगायत ज्यालामा काम गर्ने हिँड्ने गरेको विष्णुले सुनाइन् । १० वर्षभन्दा कम उमेरका बालबालिका विद्यालयसम्म नपुगी बीच बाटोमै खेलेर बस्ने गरेको उनले बताइन् । बालबालिकालाई विद्यालयसम्म पु¥याउँदासमेत विद्यालयबाट निस्केर हिँड्ने गरेको स्थानीयले बताएका छन् ।

स्थानीयतहले दलित समुदायका बालबालिका विद्यालयमा टिकाउन विभिन्न कार्यक्रम गरेको गोलन्जोर गाउँपालिका–५ का वडाध्यक्ष वुद्धीबहादुर पाल्पालीले बताए । दलित समुदाय स्तरमा पुगेर चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि बालबालिका पढ्न नजाने गरेको उनले बताए । पढेर केही हुँदैन भन्ने सोचाइको कारणले पनि बालबालिकाले पढ्न छाडेको वडाध्यक्ष पाल्पालीको भनाइ छ ।

प्रतिक्रिया