आधिकारिक पत्राचारको अधिकार महन्थ ठाकुरलाई दिइएको भन्ने भनाई भ्रमपूर्ण छ : यादव समूह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले ‘कार्यकारिणी हेरफेर, प्रमाणिकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार’ महन्थ ठाकुरलाई दिइएको भन्ने भनाई भ्रमपूर्ण रहेको बताएको छ ।

प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै सबै निर्णय अध्यक्षद्वय यादव र ठाकुरको संयुक्त हस्ताक्षरमा चल्ने निर्णय भएकोमा त्यसविपरीत एकल निर्णयमा चल्ने भएको भन्दै निर्वाचन आयोगमा पत्राचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘मिति २०७७१०९।०७ को बैठकबाट ’बैठकबाट भएको निर्णय कार्यकारिणी हेरफेर, प्रमाणिकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार’ महन्थ ठाकुरलाई दिइएको लगायतका निर्णयहरू भएको भन्ने निर्वाचन आयोगमा बुझाइएको भनिएको तथा समाचार माध्यममा सम्प्रेषण भएको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ,’ खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘२०७७ साल पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको सम्पूर्ण निर्णयहरु सोही दिन अर्थात २०७७१९।७ गते नै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त हस्ताक्षरद्वारा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरी सकिएको छ ।’

खतिवडाले त्यस दिनको निर्णयहरू कार्यकारिणी सदस्यहरू, केन्द्रीय सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेश समिति, जिल्ला समितिलगायत सम्पूर्ण भ्रातृ संगठनहरूलाई समेत संयुक्त हस्ताक्षरद्वारा निर्णयको रूपमा परिपत्रसमेत गरिएको बताएका छन् ।

त्यसदिन केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुर्नगठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव बैठकको कार्यसूचीमा नै नभएको र निर्णय पनि नभएको विज्ञप्तिमा उल्लेख छ । हुँदै नभएको निर्णयलाई निर्णय भएको भनि असार एक गते झुठा विवरण लेखी किर्ते, जालसाजी गरी निर्णय भएको भनि ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएको पनि समूहले जनाएको छ । नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दंण्डनीय कार्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया