अक्षय पारिश्रमिक घटाउन तयार

मुम्बई । भारतमा कोरोना संक्रमण फैलिएसँगै गतवर्ष लगाइएको लकडाउनका बेला अभिनेता अक्षय कुमारले चलचित्र ‘बेल बटम’ को छायांकन गरेका थिए । उनले यस चलचित्रमा काम गरबापत् १ सय १७ करोड पारिश्रमिक लिएको समाचार बाहिरिएको थियो । त्यसपश्चात् अभिनेता अक्षय कुमारले सन् २०२२ मा प्रदर्शनमा आउने उनी अभिनीत सबै चलचित्रको पारिश्रमिक बढाएर १ सय ३५ करोड पु¥याएका थिए । यसैबीच उनले आफ्ना नजिकका साथी साजिद नाडियाडवालाको चलचित्र ‘बच्चन पाण्डे’ मा काम गरेबापत् भने ९९ करोड पारिश्रमिक बुझेका छन् ।

अक्षयको अभिनीत ‘बेल बटम’ को प्रदर्शन मिति बारम्बार तोकिए पनि कोभिड–१९ का कारण प्रदर्शनमा आउन सकेको छैन । यो चलचित्र हलमा प्रदर्शनमा आएमा कस्तो व्यापार गर्छ भन्न सकिने अवस्था छैन । निर्माता बासु भागनानीले भने चलचित्रको बजेट कम गर्ने उपाय खोजेका छन् । उनले यसका लागि अभिनेता अक्षय कुमारलाई पारिश्रमिकमा ३० करोड घटाउन आग्रह गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यदि यो चलचित्र हलमा प्रदर्शनमा आयो भने सामान्य अवस्थाको जस्तो कमाउन नसक्ने बुझाइमा निर्माता रहेका छन् । यसैबीच निर्माता बासुले ३० करोड पारिश्रमिक घटाउन गरेको आग्रहलाई अभिनेता अक्षयले सहर्ष स्वीकार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर, अभिनेता अक्षय कुमारले भने पारिश्रमिक घटाएको विषयलाई सरासर झुटो भएको भन्दै सामाजिक सञ्जाल ट्विटरमार्फत अस्वीकार गरेका छन् । उनले, एकाबिहानै आफूले झुटो खबर पढेको भन्दै ट्विट गरेका हुन् ।

यसैबीच अक्षय कुमार अभिनित चलचित्र ‘बेल बटम’ को प्रदर्शन मिति तोकिएको छ । यसअघि पनि यसको प्रदर्शन मिति तोकिए पनि कोरोनाको दोस्रो लहरका कारण चलचित्र सार्वजनिक हुन सकेको छैन । चलचित्रको निर्माण पक्षले ‘बेल बटम’ लाई आगामी महिनाबाट रिलिज गर्ने तयारी गरिरहेको जनाइएको छ । यो चलचित्र २७ जुलाईबाट हलमा नै प्रदर्शनमा आउने तय भएको छ । अभिनेता अक्षय कुमार र यसको निर्माण पक्षले नयाँ प्रदर्शन मिति तोक्दै हलमा नै चलचित्र रिलिज हुने घोषणा गरेको हो । भारतमा अझै पनि केही राज्यमा लकडाउन छ । केही राज्यमा भने लकडाउन खुकुलो पार्दै लगिएको छ । दोस्रो लहरको कोरोना महामारीको संक्रमणपछि विस्तारै भारतका विभिन्न राज्यहरु लयमा फर्किने तयारीमा छन् । अक्षय कुमार, वाणी कपुर अभिनीत यो चलचित्र २७ जुलाईमा हलमै रिलिज भएको खण्डमा यसले बलिउडलाई पनि लयमा फर्काउन मद्दत गर्नेछ ।

यो चलचित्रका लागि ओटिटी प्लेटफर्मबाट पनि आकर्षक मूल्यमा खरिदको अफर आएको थियो । तर, चलचित्रका निर्माता बासु भगनानी र नायक अक्षय कुमारले हलहरुलाई लयमा फर्काउनका लागि चलचित्रलाई हलमै रिलिज गर्ने सोच बनाएका थिए । सोही अनुसार, यो चलचित्र अब जुलाई २७ बाट हलमै रिलिज हुने भएको छ ।

प्रतिक्रिया