दलित समुदायलाई रेडियो वितरण

अर्घाखाँची । शीतगंगा नगरपालिका–६ जुकेनाले ६६ वर्षभन्दा माथिका दलित परिवारलाई रेडियो हस्तान्तरण गरेको छ । वडाले ६५ दलित परिवारलाई रेडियो वितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ । शीतगंगा नगरपालिका–६ निवासी ६८ वर्षीय पदमबहादुर सुनारले वडा कार्यालय पुगेर नयाँ रेडियो बुझी कार्यालयबाटै रेडियो बजाउँदै घर आए । रेडियो पाएपछि उनले भने, ‘म रेडियो सधँै सुन्छु, रेडियोको समाचार सुनेपछि मलाई धेरै आनन्द लाग्छ, टिभी खासै हेर्दिनँ, नयाँ रेडियो वडाले दियो म निकै खुसी छु । अर्को रेडियो सुन्दासुन्दै पुरानो थियो मेरो साथी नै रेडियो हो ।’

त्यस्तै सुन्तली विक पनि रेडियो पाउँदा निकै खुसी देखिन्थिन् । सोही स्थानकी ७१ वर्षीय विकलाई रेडियो पाउँदा आपूmले साथी नै पाएजस्तो भएको बताइन् । उनले भनिन्, ‘मेरो मुख्य साथी नै रेडियो बिहानदेखि साँझसम्म म रेडियो बजाउँछु, रेडियो सुनेर आजभोलि धेरै कुरा थाहा पाएको छु । हामी दलित महिलाका धेरै अधिकार आजभोलि आएछन् रेडियोबाट थाहा पाएँ । अब नयाँ रेडियो झन् कतिवेला पनि बिग्रदैन होला बिजुलीवाट पनि सुन्न पाइन्छ ।’

ज्येष्ठ दलित नागरिकलाई सम्मान गर्ने आफनो कर्तब्य भएको वडाध्यक्ष ऋषि रेश्मीले बताए । अबको नयाँ पुस्ताले ज्येष्ठनागरिकको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्ने विषयमा सबै लाग्नुपर्ने अध्यक्षले बताए । अध्यक्ष रेश्मीले भने, ‘ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप वितरण गरिएको रेडियोले चेतना विकास गर्न सहयोग गर्नेछ, रेडियो सरल र सहज सञ्चारको माध्यम हो, उहाँहरूले जतिवेला नि प्रयोग गर्न सक्नुहुन्छ, अरू सञ्चार माध्यम प्रयोग गर्न ग्रामीण तहका ज्येष्ठ नागरिकलाई निकै कठिन छ, सामाजिक रूपान्तरणमा पनि यस्ता गतिविधिले सहयोग गर्ने विश्वास लिएका छौँ ।’

देशकै भौगोलिक हिसाबले ठूलो नगरपालिका शीतगंगा नगरपालिका पहिलेदेखि आफैँमा विकासका हिसाबले पछाडि परेको क्षेत्र हो अहिले बिकासले बिस्तारै गति लिन लागेको भन्दै दलित समुदायको चेतनाको विकास गर्न रेडियो वितरणले सहयोग पुराउने स्थानीय शिक्षक प्रदीप भुसालले बताए ।

दलित ज्येष्ठ नागरिकलाई रेडियो वितरण गर्ने कार्यक्रम निकै प्रभावकारी भएको स्थानीय रेडियोका स्टेसन म्यानेजर अराजसिंह बेल्वासेले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया