बेल्जियमको विजयी सुरुवात

लण्डन । उपाधि दावेदार बेल्जियमले युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा रुसलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । फरवार्ड रोमेलु लुकाकुको दुई गोलको मदतमा बेल्जियम ३–० ले विजयी रहयो । बेल्जियमले रुसको कमजोर डिफेन्सको फाइदा उठाउँदै पहिलो हाफमा २–० को अग्रता लिँदै दोस्रो हाफमा १ गोल थपेको हो । खेलको दशौं मिनेटमा नै लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए । रुसको डिफेन्सले सहज बल क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्र भित्र रहेका लुकाकुले सहजै गोल गरेका थिए । उनले आफ्नो गोलको खुसी मनाउने क्रममा मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई समर्पित समेत गरे । एरिक्सन फिनल्याण्डविरुद्ध खेलमा अचेत भएर ढलेपछि खेल केहीबेर स्थगित भएको थियो । हाल अस्पतालमा रहेका उनको स्वास्थ्य स्थिति स्थिर छ ।

३४ औं मिनेटमा थोमस मुनिएरले बेल्जियमको अग्रता दोब्बर पारे । थोर्गन हाजार्डको क्रसलाई गोलरक्षक एन्टोन शुनिनले बचाएपनि रिबाउन्डलाई अनामार्क रहेका मुनिएरले गोलमा परिणत गरे । उनले मैदान छिरेको ७ मिनेटमा नै गोल गरेका थिए । दोस्रो हाफमा लुकाकुले मुनिएरकै पासमा गोल गर्न सफल रहे । ८८ औं मिनेटमा मुनिएरले दिएको क्रसलाई लुकाकुले गोल गर्दै ३–० को जित पक्का गरेका थिए । बेल्जियमले इडेन हाजार्डलाई बेन्चमा राख्दै खेल सुरु गरेको थियो । हाजार्ड ७२ औं मिनेटमा बेन्चबाट आएका थिए ।

बेल्जियमले आफ्नो उच्च लयलाई युरोको पहिलो खेलमा पनि कायम राखेको छ । लगातार ३१ अन्तर्राष्ट्रिय खेलमा गोल गर्दै बेल्जियमले उपाधिमा बलियो दावेदारी पेस गर्दै आएको थियो । सन् २०१८ विश्वकपको सेमिफाइनलमा फ्रान्सविरुद्ध गोल गर्न नसकेको बेल्जियमले त्यसयता सबै खेलमा गोल गरेको छ । लुकाकुले पछिल्लो १५ खेलमा २० गोल गरेका छन् । युरोको पहिलो खेलमा नै २ गोल गर्दै उनले गोल्डेन बुटमा पनि बलियो दावेदारी प्रस्तुत गरेका छन् । यस जितसँगै बेल्जियमले युरोको पहिलो खेलबाट ३ अंक जोडेको छ । यसै समूहमा फिनल्याण्डले डेनमार्कलाई पराजित गर्दै ३ अंक जोडेको थियो । अब बेल्जियमले बिहिबार डेनमार्कको सामना गर्नछ । त्यसअघि बुधबार रुस र फिनल्याण्डले एक आपसमा खेल्नेछन् ।

प्रतिक्रिया