राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्यलाई आह्वान : शुक्रबार ५ वजेसम्ममा प्रधानमन्त्रीमा दावी पेश गर्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको भन्दै संविधानको धारा (५) अनुसार सरकार गठनका को आह्वान गरेकी छिन् । प्रधानमन्त्री ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत प्राप्त गर्न नसक्ने बताएका थिए । सरकारले बिहीबार नै विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था देखाउँदै ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिले शुक्रबार साँझसम्म विश्वासको मत प्राप्त गर्ने आधारसहित सरकार गठनका लागि आह्वान गरेकी छन् ।

‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबै भन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा माननीय श्री केपी शर्मा ओलीज्यूलाई मिति २०७८/१/३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएकोमा उहाँले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिन भित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, मिति २०७८/१/२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रकृया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रकृया आरम्भ हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नहुने देखी मार्ग प्रशस्त गरेकाले अब उपधारा ५ बमोजिम शुक्रबार साँझसम्म वैकल्पिक प्रधानमन्त्रीले बहुमत सदस्यको विश्वास प्राप्त गर्ने आधार पेश गर्नुपर्नेछ । प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पाप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था उपधारा ५ मा छ । फेरि पनि विपक्षी गठबन्धनले भोलि साँझसम्म दुई वा दुई भन्दा बढी दलको वहुमत पेश गर्नुपर्ने हुन्छ । जुन प्रयास यसअघिनै असफल भएर ओली नै प्रधानमन्त्री नियुक्त भएका थिए ।

यदि राष्ट्रपतिले दिएको समयभित्र बहुमतको आधार प्रस्तुत गर्न नसकेमा प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुनेछ र केपी ओली कै नेतृत्वमा मुलुकमा चुनाव घोषणा हुनेछ । अहिलेसम्म जसपाको महन्थ ठाकुर पक्ष तटस्थ नै छ र ठाकुर पक्षको माग बमोजिम सरकारले बिहीबारमात्रै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्राप्त गर्ने निर्णय समेत गरेको छ ।

असंवैधानिक र आपत्तिजनक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको जनाएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताए ।

‘सबैभन्दा ठूलो दलको हैसियतामा प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीले संविधानबमोजिम सदनमा विश्वास मत लिनुभएको छैन । उहाँले राष्ट्रपतिसमक्ष राजीनामा दिएको र स्वीकृत भएको पनि देखिदैन । कुन संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको पहल गर्नुभएको हो ? यसमा हाम्रो आपत्ति छ’, खाँडले भने ।

राष्ट्रपतिले दिएको समयसीमा पनि हास्यास्पद भएको बताए । ‘नयाँ सरकार गठनजस्तो गम्भीर विषयमा केही घण्टाको अवधी तोकिनु आश्चर्यको विषय छ । यसबारे भोली बिहानै छलफल गरेर थप कदम चाल्नेछौं’, खाँडले भने ।

प्रतिक्रिया