राष्ट्रिय फुटबल टिममा डेब्युू गर्ने ६ खेलाडी

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले मंगलबार राष्ट्रिय फुटबल टिमको २३ सदस्यीय टोली घोषणा गर्दा ६ खेलाडीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । यस्तै ७ खेलाडीले टिममा पुनरागमन गरेका छन् । गत चैतमा थ्री नेशन्स कप जित्दाको टिममा रहेका १० खेलाडी अहिले पनि निरन्तर छन् । अलमुताइरीले वैशाख ११ देखि जेठ १ सम्म भएको पहिलो संस्करणको नेपाल सुपर लिगमा गरेको प्रदर्शनका आधारमा युवा खेलाडीलाई अवसर दिँदा नाम चलेका खेलाडी बाहिरिएका छन् । अलमुताइरीले बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट २३ जना छनोट गरेका हुन् । यसपटक राष्ट्रिय टिमको कप्तानी गरिसकेका भरत खवासदेखि रन्जित धिमालसम्मका खेलाडी टिममा पर्न असफल रहे । सुजल श्रेष्ठ, तेज तामाङ, रविशंकर पासवान पनि यसपटक टिममा परेनन् ।

एनएसएलमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी विशाल सुनार, गौतम श्रेष्ठ, कमल थापा, आयुष घलान, सुरज ज्यू ठकुरी र मनिस डाँगी पहिलो पटक सिनियर टिममा परेका छन् । थ्री नेशन्स कपमा टिममा पर्न असफल रहेका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, पुजन उपरकोटी, विकास खवास, सुमन अर्यालले टिममा स्थान बनाएका छन् । यस्तै सुमन लामा र आशिष लामाले पनि टिममा पुनरागमन गरेका छन् ।

विशाल सुनार (गोलकिपर)
उमेर समूहबाट नेपालका लागि खेलिसकेका खेलाडी हुन् विशाल सुनार । उनले यू–१६ र यू–१८ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् । थ्री नेशन्स कपको लागि उनी बन्द प्रशिक्षणमा परेपनि अन्तिम टिममा पर्न असफल रहेका थिए । पछिल्लो पटक ए डिभिजन लिग हुँदा उनले ब्रिगेड ब्वाइज क्लबबाट खेलेका थिए । यस्तै पोखरामा भएको आहा रारा गोल्डकपमा मनाङ मर्स्याङ्दीबाट खेलेका थिए । राष्ट्रिय टिमका नियमित सदस्य तथा एनएसएल च्याम्पियन टिम काठमाडौं रेजर्सका कप्तान तथा मार्की खेलाडी विकेश कुथु बन्द प्रशिक्षणमा पर्न असफल हुँदा विशालले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् ।

गौतम श्रेष्ठ (डिफेन्डर)
गौतम श्रेष्ठले एनएसएलमा पोखरा थण्डर्सबाट खेलेका थिए । पछिल्लो पटक जाउलाखेल युथ क्लबबाट ए डिभिजन लिग खेलेका उनले एएफसी कप छनोटमा त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलेका थिए । यस्तै कीर्गिस्तानको यू–२३ टिम विरुद्ध मैत्रीपूर्ण खेल समेत खेलेका थिए ।

कमल थापा (मिडफिल्डर)
उमेर समूहमा खेलिसकेका कमलले एनएसएलमा पोखरा थण्डर्सबाट खेलेका थिए । भिषण गुरुङको स्थानमा टिममा स्थान बनाएका उनले लिगका पछिल्ला ३ खेल मात्र खेल्ने अवसर पाए । वैकल्पिक खेलाडीको रुपमा केही समय मात्र मैदानमा बिताए पनि उनले प्रशिक्षक अलमुताइरीको मन जित्न सफल भए ।

आयुष घलान (मिडफिल्डर)
नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी हुन् आयुष घलान । सुपर लिग अघि घरेलु फुटबलमा विरलै नाम सुनिएका आयुषले एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै धेरैको मन जिते । उनले यसै सिजन बी डिभिजन लिगमा खुमलटारबाट खेलेका थिए । छोटो समयै उनी राष्ट्रिय टिममा पर्न सफल भएका हुन् । उनी हिँड्न ट्यालेन्टको रुपमा पोखरामा अनुबन्ध भएका थिए ।

सुरज ज्यू ठकुरी (मिडफिल्डर)
एनएसएलमा यस पटक नाम चलेका उत्कृष्ट खेलाडीहरु थिए । तर सुरजज्यू ठकुरीले अवसर पाउँदा उत्कृष्ट प्रदर्शन गर्दै धेरैको मन जिते । सुरुवाती खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले पछिल्ला तीन खेल पहिलो रोजाईमा रहँदै पूरै समय मैदानमा बिताए ।

मनिस डाँगी (मिडफिल्डर)
मिनस डाँगीले पनि एनएसएलमा विराटनगर सिटीबाटै खेले । दक्षिण कोरियामा खेल्दै चर्चा कमाएका उनले यसअघि सी डिभिजन लिग खेलेका थिए भने नेपालमा भएको साफ यू–१८ च्याम्पियनसमेत खेलेका थिए । विराटनगरले उनलाई हिँड्न ट्यालेन्टको रुपमा टिममा अनुबन्ध गरेको थियो र उनले मैदानमा पनि त्यही खालको प्रदर्शन देखाए ।

प्रतिक्रिया