‘मेस्सीबिना खेल्न असम्भव’


लण्डन । रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले ला लिगामा फेरि एक पटक निराश हुनु परेको छ । आइतबार घरेलु मैदानमा सेल्टा भिगोको खेलमा बार्सिलोना २–१ ले पराजित भएको थियो । त्यो हारसँगै यो सिजनको ला लिगा उपाधि दौडबाट टोली बाहिरिएको छ । कोम्यानले त्यहि खेलको परिणामले सिजन भर कति खेलमा त्यस्तो भोग्नु परेको बताए ।

‘यदि पहिलो हाफका बारेमा बोल्नु पर्दा हामीले एक भन्दा बढी गोल गर्नुपर्ने थियो । हामीले राम्रो खेल्यौं , मौका पनि पायौं । उनीहरुले एउटा मौका पाएर त्यसैमा गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो, ‘उनले भने, ‘त्यो हामीलाई मानसिक रुपमा दबाब थियो । दोस्रो हाफ हाम्रो राम्रो भएन । अन्तमा पराजित भयौं । यदि भाग्यले साथ दिएन भने यस्तो बारम्बार हुन्छ ।’

कोम्यानले आफ्नो भविष्यका विषयमा भने टिप्पणी गर्न चाहेनन् । म यो विषयमा जवाफमा दिन्न । ‘मैले हिजै यो भनिसकेको छु,’ उनले भने, ‘म फेरि त्यहि कुरा दोहोराउन चाहन्न।’ कोम्यानले पछिल्लो खेलपछि बोल्दै आफ्नो भविष्यबारे प्रश्न उठ्नु स्वभाविक रहेको बताएका थिए ।
कोम्यानले लिओनल मेस्सीको निरन्तरताको आशा पनि राखेका छन् । सिजनको अन्त्यसँगै मेस्सीको अहिलेको सम्झौता टुंगिनेछ । आइतबार मेस्सीकै गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।

‘हामीलाई आशा छ मेस्सीले छाड्ने छैनन् । किनकी उनी अहिले पनि विश्वका उत्कृष्ट खेलाडी हुन् । उनले आज पनि त्यस्तै प्रदर्शन गरे । उनी विना खेल्न असम्भव छ,’ उनले भने । ‘उनले यो सिजन ३० गोल गरिसकेका छन् र त्यसले गर्दा टोलीले धरै अंक प्राप्त गरेको छ । अब यो प्रश्न उनलाई गर्नुपर्छ । मेरो व्यक्तिगत र क्लबका आशा उनी निरन्तर रहन्छन् भन्ने हो । यदि उनी हामीसँग भएनन् भने कसले त्यति धेरै गोल गर्छ भन्नेमा शंका छ ।’

प्रतिक्रिया