नाटकका लागि नाटक

                    तेज काफ्ले

कार्यरत संस्थाका प्राचार्यले कुरैकुरामा हामी सबै मिलेर नाटक मञ्चन गर्ने विचार राखेपछि हामी केही साथीहरूले हँ हँ त मिलायौँ पनि । यसै क्रममा विद्यालयकै नाट्य शिक्षक राजन भुजेललाई नाटक लेख्नका लागि प्राचार्य विजय श्रेष्ठ सर र मैले उत्प्रेरित गर्याैं । यसै क्रममा प्राचार्यले नै नाटकमा सहभागी भई काम गर्न इच्छुक साथीहरूको नामावलि संकलनका लागि एउटा इमेल सम्प्रेषण गर्नुभयो ।

झण्डै २० जना साथीहरूले नाटकमा सहभागी हुने इच्छा जाहेर गरे । ती २० जना नामहरूमध्ये कयौँ साथीहरू, ५–६ महिनादेखि २–३ वर्षसम्मका बच्चाहरूका आमा पनि थिए । हामी बिचबिचमा यस्तै नाट्यघरमा नाटक हेर्न पनि गइरहन्थ्यौँ । होला केही साथीहरूले मेल राम्रोसँग नपढी हँ मा हँ मिलाए तर कुरा त यहाँ हामी आफैले नाटक मञ्चन गर्नु थियो । यो कुरा हामी केही नाटक गर्न तम्तयार भएर बसेका साथीहरू बिच कुराकानी भयो अनि हामीले इच्छुक साथीहरूलाई बैठकका लागि आह्वान गर्याैं ।

संस्थामा हामी बिहान ९ बजेदेखि ६ बजेसम्म काम गर्छाैं । हप्तामा शनिबार र आइतबार चाहिँ संस्था बन्द हुन्छ । कुरा के भने, यो नाटक संस्थागत नभई नितान्त व्यक्तिगत थियो । त्यसैले कार्यालयीय समयमा नाटकको रिहर्सल गर्ने भन्ने कुरा सम्भव पनि थिएन र त्यसरी सोचिएको पनि थिएन तर हाम्रो विचारमा साथीहरूले त्यही कुरा सोचे कि भन्ने चाहिँ थियो ।

त्यसैले पनि बैठक बोलाइएको पनि थियो । बैठकमा प्राचार्यले नै यिनै कुराहरू माथि प्रकाश पार्नुभएको थियो । अनि इच्छुक साथीहरूबाट अर्थ संकलन गर्ने कुरा पनि बैठकमा उठ्यो । प्रत्येकले अहिलेलाई ३–३ हजार रूपैयाँ उठाउने कुरा भयो । पैसा प्राचार्यकै खाता वा हातमा दिने भन्ने कुरा अनि नाट्यघर बुकका लागि १० हजार रूपैयाँ प्राचार्यले नै दिने भन्ने कुरासहित बैठक समापन गरेको घोषणा पनि गरियो ।

जस्तोसुकै परिस्थितिमा पनि नाटक गर्ने अठोटका साथ मिति २०७८ जेठ १ र २ गते नाटक मञ्चनका लागि बत्तिसपुतलीस्थित शिल्पी नाट्यघर (काठमाडौं) हल बुक पनि गर्याैं । त्यही बेलामा राजन सरले हामीहरूलाई नाटकको पाण्डुलिपि पनि हात हातमा थमाइसक्नु भएको थियो । लगभग २–३ दिनको अन्तरालमा २० जनाको हाम्रो समूह घटेर १०–११ जनामा सीमित पनि हुन पुग्यौँ । त्यस्तै ५–६ दिनपछि त ४–५ जनामा पो सीमित हुन पुग्यौँ । अब चाहिँ साँच्चिकै चिन्ताको विषय बन्न थाल्यो ।

अनि हामीहरूले हाम्रै विद्यार्थी, जो नाट्य क्लबमा सहभागी भई निरन्तर नाटक सिक्ने विद्यार्थीहरू थिए उनीहरूलाई लिने योजना बनायौँ । नाट्य क्लबमा सहभागी विद्यार्थीहरू ८ देखि १२ कक्षासम्म पढ्ने थिए । उनीहरूको परीक्षा पनि नजिकिँदै थियो–र चल्दै पनि छ । हामीले उनीहरूलाई बोलायौँ अनि नाटकमा सहभागी हुन आग्रह गर्याैं अनि आआफ्ना अभिभावकलाई राम्रोसँग विश्वास दिलाऊ भनेर भन्यौँ पनि ।नभन्दै क्लबमा सहभागी विद्यार्थीहरूले नाटकमा रिहर्सल गर्ने सहमति जनाए ।

यहाँनेर मलाई एउटा कुरा भन्न मन लागेको छ । काठमाडौंका थुप्रै विद्यालयमा अहिले विद्यार्थीहरू बिहानै ६ बजे भात बोकेर बेलुका ७ बजेसम्म ट्युसनमा खटिएका छन् । चाहे भौतिक रूपमा विद्यालय सञ्चालन हुँदा होस् या अनलाइनमा कक्षा सञ्चालन हुँदा होस् तर हाम्रा विद्यार्थीहरू भने नाटकको रिहर्सलमा । खासमा ती बुझ्झकी अभिभावक र विद्यालयको आफ्नै दर्शनको फल हो भन्ने लाग्छ । खैर, अहिले हामी निरन्तर नाटकको रिहर्सलमा जुटेका छौँ । बेलुका ६ बजेदेखि ९ बजेसम्म हाम्रो अभ्यास जारी छ ।

रिहर्सलकै क्रममा पहिलो-दोस्रो-तेस्रो-चौथो र पाँचौँ दिनसम्म निर्देशक राजन सरले हामीलाई पात्रहरूको जिम्मेवारी पनि सुम्पिसक्नुभएको थियो । रिहर्सल हुनुअगावै राजन सरले हामीहरूलाई भिन्नभिन्न खालमा खेलहरू खेलाउनुहुन्थ्यो-हुन्छ । स्क्रिप्टमा जम्मा दसवटा दृश्य थिए-छन् । रिहर्सलका यी पाँच दिनमा हामीले सामूहिक रूपमा दिइएको स्क्रिप्ट नै पढ्यौँ । हामीहरू पनि आआफ्नो भागमा परेको डाइलग कण्ठ गर्नतर्फ उन्मुख थियौँ । ती दिनहरूमा हामी केही साथीका बिचमा कहीँ हामी अति महत्वाकाँक्षी योजना त बनाएनौँ ? कतै असफल त हुने होइनजस्तो पनि लाग्यो तर योजना बनाएपछि जसरी पनि गर्नुपर्छ भन्ने कुरामा पुनः हामी पुग्यौँ ।

रिहर्सल सुरू हुनु अगाडि हामीहरू कुनै न कुनै खेल (नेम गेम, हट सिट, ट्रस्ट गेम, जिब्रिस, माइन्ड गेम, कुखुरा र स्यालको खेल, सेभेन अप आदि) खेलेर नै हाम्रो अभ्यास सुरू हुन्थ्यो । साँच्चिकै खेल निकै रमाइला हुन्थे । खेल सामूहिक कार्यलाई कसरी सफल बनाउन सकिन्छ भन्नेतर्फ नै उन्मुख हुन्थे । कहिले ध्यानलाई कसरी एकाग्र बनाउने भनेर खेलहरू सम्पन्न हुन्थे । कहिले उत्तेजना (रिस, माया, दुःख, खुसी) लाई व्यवस्थापन गर्ने कुरामा खेल देखाइन्थ्यो ।

अँ, यो विषयमा एकपटक हामी सबै कलाकारलाई निर्देशकले आँखा बन्द गर्न लगाई प्रत्येक कलाकारलाई विगतमा आआफ्ना दुःख, पीडा सम्झन लगाउनुभयो र मज्जासँग रून लगाउनुभयो । हामीमध्ये अधिकांश पुरूष कलाकार वास्तवमै रून सकिएन तर केही महिला साथीहरू भने मज्जासँग रूनुभयो । अचम्म, म सामान्य चलचित्रका दृश्य हेरेर कति पटक रोएको छु । किताब पढ्दा पनि आँखा भरिएका छन् । रामायण र महाभारत हेर्दा म बर्बरी रोएको छु तर त्यहाँ रून सकिएन खै के भयो ।

मेरो एकजना प्रिय साथी निर्मलले त्यो दिन ‘आफू दरिद्र भएको कुरा महशुस भयो भन्ने विचार राखे ।’ ठ्याक्कै मैले पनि त्यस्तै महशुस गरेँ । यस विषयमा हामी बिच २-३ दिनसम्म नै तर्कवितर्क भए । खासमा निर्देशकले पछि नाटकमा रूवाइको सिन आउँदा काम लाग्छ भन्ने उद्देश्यले त्यो कार्य गराएको भन्ने कुरा राख्नुभयो । पछि रूने साथीहरू साँच्चिकै त्यो रूवाइको कला देखाउन सफल भए पनि । यसरी दिनहरू बित्दै गए ।

रिहर्सल गर्न लागेको पनि ९१० दिन थालिसकेको अवस्था थियो । ममा मेरो पात्रअनुरूपको अभिनय पटक्कै देखिएको थिएन । केही साथीहरूमा स्वस्फूर्तरूपमा अभिनय आएको थियो । त्यो दृश्य देख्दा मलाई कताकता पीडा हुन्थ्यो किन ममा हुन सकेन भनेर । पछि निर्देशकसँग कुरा गरी मैले थप चार घण्टा रिहर्सल पनि गरेँ । हल्का छनक आउन थाल्यो है भनी साथीहरूबाट कमेन्ट आउन थाल्यो । यही बिचमा मैले एक महिनादेखि दाह्री पनि पालेको थिएँ । निर्देशकले सबै कलाकारलाई पात्रअनुसार मलाइजस्तै यो गर यो नगर भनी भनिरहनुभएको थियो ।

यसरी नै १२ औँ दिनका दिन एकजना कलाकारले नाटकको स्क्रिप्ट नै चित्त नबुझेर आफूले अभिनय नगर्ने कुरा राखेपछि त्यो दिन हाम्रो रिहर्सल हुन सकेन । तर पनि हामीहरूले हरेश चाहिँ खाएनौँ । नाटकका लागि हामीहरूले आआफ्नो प्रप्स पनि तयार गर्नुपर्ने थियो । हामीलाई घुम (स्याखु) चाहिने भएको थियो । मैले आमा (स्याङ्जा) सँग कुरा गरी दुईवटा घुमको व्यवस्था पनि गरिसकेको थिएँ । नाटक मञ्चनको दिन पनि नजिकिँदै थियो । रिहर्सलका साथसाथै हामी सबै कलाकारहरू आआफ्नै तयारीमा पनि जुटिरहेकै थियौँ ।

अफसोच ! २०७७ चैत्र ३० गते कोरोना महामारीका कारण हामीले झण्डै १९ दिन ४४ घण्टा रिहर्सल गरेको नाटक स्थगित गर्न बाध्य भयौँ । खैर, एकदिन त त्यो नाटक मञ्चन गर्ने दिन कसो नआउला र ! अहिले हामी त्यसैको प्रतीक्षामा छौँ । चलचित्र म बढी नै हेर्ने मान्छे तर १९ दिनसम्म नाटकको रिहर्सल गरिसकेपछि चलचित्र हेर्ने मेरो नजरियामा परिवर्तन आएको छ ।

म एक भाषाको विद्यार्थी भएको नाताले पनि संवाद, विषयवस्तु मेरा लागि बढी महत्वपूर्ण हुन्थे भने अहिले कलाकारले अभिनय कसरी गरेको छ भनी म बढी नै ध्यानपूर्वक हेर्ने गरेको छु । खैर, कामलाई पूर्णता दिन नसके पनि जीवनमा एउटा नयाँ अनुभव चाहिँ मज्जैले गरियो भनूँ ।

प्रतिक्रिया