२९ अर्बको धितोपत्र निस्काशन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७÷७८ को ९ महिनामा कुल २९ अर्ब २१ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले गत चैत मसान्तसम्ममा विभिन्न कम्पनीलाई साधारण सेयर (आईपीओ), डिबेन्चर, म्युचुअल फण्ड र हकप्रद गरी सो मात्राको धितोपत्र निष्काशन गर्न अनुमति दिएको हो । समीक्षा अवधिमा बोर्डले ११ अर्ब ५९ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), ११ अर्ब ८४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ३० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र २ अर्ब ४८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल २९ अर्ब २१ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ३९ अर्ब ४७ करोड रुपैयाँ बराबरको साधारण सेयर, ३८ अर्ब ११ करोड रुपैयाँ बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

२०७६ चैत मसान्तमा १ हजार २ सय ५१.५ रहेको नेप्से सुचकांक २०७७ चैत मसान्तमा २ हजार ७ सय १४.८ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १ हजार ३ सय ६२.४ रहेको थियो । २०७७ चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

२०७७ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २ सय १८ रहेको छ । सुचीकृत कम्पनीमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन भने ३८ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन । २०७७ असारमा सूचीकृत कम्पनीको संख्या २ सय १२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६९ दशलमव ३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ७.९ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया