लुकाइराखेको सात सय सिलिन्डर अक्सिजन बरामद

लहान । नेपाल प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध अनुसन्धान हो । तर, अहिले कोरोना महामारीको बेला प्रहरी फरक भूमिकामा देखिएको छ । कोरोना संक्रमणको महामारी बढेपछि प्रहरीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपचारमा सहयोगीको रूपमा आफ्नो भूमिका बढाएको हो । यस क्रममा प्रहरीले अक्सिजनका खाली सिलिन्डर खोज्ने, भर्ने र अस्पतालसम्म पु¥याएर बिरामीको ज्यान बचाउने काम सुरु गरेको छ । ललितपुरबाट सुरु भएको यो बिशेष जिम्मेवारी देशभरी अघि बढेको छ । यही क्रममा प्रदेश–२ प्रहरीले आफ्नो मातहतका विभिन्न जिल्लाबाट सात सय थान अक्सिजन सिलिन्डर बरामद गरेको छ । १ सय ३२ थान भरी र ५ सय ६८ थान खाली गरी सात सय सिलिन्डर विभिन्न ठाउँबाट बरामद गरिएको प्रदेश–२ प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा सूचना अधिकारी कृष्ण प्रसार्इंले जानकारी दिए । उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेको उक्त सिलिन्डरहरू बरामद गरिएको हो ।

बरामद गरिएका सिलिन्डरहरू सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक वितरकलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने प्रहरीले जनाएको छ । स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि स्टक गरी राखेको व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ । अहिलेको विषम् परिस्थितिमा स्वास्थ्य प्रयोजनबाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नराख्न पनि प्रदेश–२ प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले आग्रह गरेका छन् ।

कोरोना भाइरस संक्रमण दर बढेसँगै बजारमा अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि लुकाएरसमेत राख्न थालेपछि प्रहरीले देशभर अक्सिजन सिलिन्डर खोजी अभियान चलाएको छ । यस्तो नवीन कामको सुरुआत ललितपुर प्रहरीले बुधबार सुरु गरेको थियो । ललितपुरमा अक्सिजनका खाली सिलिन्डर जम्मा गरी कम्पनीमा बुझाइएको थियो । अहिले गृह मन्त्रालयले नै यस्तो काम गर्न सबै जिल्लालाई निर्देशन दिएको छ । अक्सिजन सिलिन्डर संकलन गर्ने कामको सुरुआत ललितपुर प्रहरीले गरेको थियो । महामारीको समयमा निषेधाज्ञा कार्यान्वयनदेखि बिरामीलाई अस्पताल लैजाने कामसम्ममा प्रहरी खटिएका छन् । यसरी फ्रन्टलाइनमा काम गर्ने प्रहरीलाई सरकारले जोखिम भत्तासमेत दिने निर्णय गरेको थियो ।

पछि अधिकतम १० प्रतिशतलाई मात्र दिने भनेपछि प्रहरीले ‘भत्ताबिना नै देशसेवा’ गर्ने निर्णय गरेको थियो । जसअनुसार कोरोनोको दोस्रो लहरमा प्रहरी फ्रन्टलाइनमा खटिएको छ । अहिले पनि पर्याप्त स्रोतसाधनबिना नै प्रहरी सीमादेखि अस्पतालसम्म खटिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया