निफ महोत्सव : बहसमा महिला सहभागिता र अवसर

काठमाडौ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको तेस्रो दिन शनिबार ‘चलचित्र उद्योगमा महिला सहभागिता र अवसर’ विषयमा अन्तक्र्रिया भएको छ । भर्चुअल माध्यमद्वारा गरिएको कार्यक्रममा चलचित्र जगतका महिला हस्तीसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले चलचित्र क्षेत्रमा महिला सहभागिता सन्तोषजनक रहेको तर विभेदपूर्ण रहेको जिकिर गरिन् । उनले भनिन्, ‘समान काम गर्ने पुरुष कलाकारको तुलनामा महिला कलाकारले कम पारिश्रमिक पाउने गरेको छन् । समान कामको समान पारिश्रमिक हुनुपर्दछ ।’

यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले चलचित्रमा महिला सहभागिताको कुरा गर्दा अहिले सुनौलो समय रहेको बताइन् । उनले भनिन्, ‘पहिलाको तुलनामा अहिले धेरै सहज छ, पहिला फिल्म खेल्ने भई, यो बिग्री भन्थे तर अहिले पढे लेखेको, जिम्मेवार महिलाहरूको सहभागिता छ ।’ निरौलाले चलचित्रमा महिला सहभागिता टिकिराख्न चुनौतीपूर्ण रहेको बताउँदै समय सन्दर्भ र प्रविधिसँग परिचित भएमा अवसर पनि उत्तिकै रहेको सुनाइन् । उनले भनिन्, ‘चलचित्र क्षेत्रमा पनि पित्तृसत्तात्मक सोच रहेको र अन्य क्षेत्रमा जस्तै चलचित्र क्षेत्रमा पनि यो समस्या रहेको छ ।’

सोही कार्यक्रममा छांयाकार, सम्पादक तथा चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणाले नेपाली चलचित्र जगतमा महिला प्राविधिकको सहभागिता न्यून रहेको बताइन् । उनले भनिन्, ‘एक–दुई वटा चलचित्रमा प्राविधिक काम गर्नेहरू पलायन हुँदै गएको अवस्था छ । क्यामेरा, सम्पादनमा सुरुवाती कक्षा लिनेको उत्साह हुने तर पछि कलाकारिता निर्देशनतिर आकर्षण बढिरहेको छ ।’ यसैगरी (निफ) को चौथो संस्करण अन्तर्गत दोस्रो दिन शुक्रबार ‘चलचित्र उद्योगले नेपालमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण’ विषयक अन्तत्र्रिmया भएको थियो । जुममार्फत गरिएको सो बहसमा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्र जगतका विज्ञसँग गहन छलफल गरिएको प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

कार्यक्रममा अग्रज कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धिक कपिराइटको संरक्षण गर्नुपर्ने बताउँदै यस क्षेत्रमा काम गर्नहरूको उचित बिमाको व्यवस्था गर्न आग्रह गरे । चलचित्रमार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्ने मौलिक कथाहरूको सिर्जना गर्न आवश्यक रहेको बताए । त्यसैगरी, अग्रज कलाकार नीर शाहले नेपाली चलचित्र क्षेत्रमा रोजगारीको सिर्जना कसरी गर्ने, जनशक्तिको विकास कसरी गर्ने लगायत विषयमा गहन अध्ययनविना सुरु भएको उद्योगले थोरै मात्रामा भए पनि चलचित्र जगतमा श्रमशक्ति स्थापित गर्ने सफल भएको बताए । उनले डिजिटल उपकरण, प्रविधि, दक्ष जनशक्ति पनि नेपाली चलचित्र उद्योगले विकास गरेको र श्रमिकको क्रमिक रुपमा विकास भएको सुनाए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीलाई दक्ष बनाउन एवं विश्वबजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यवसायिक बनाउन जरुरी रहेको जिकिर गरे । अध्यक्ष दाहाल भने, ‘राज्यले नै सिनेयोद्धाहरू तयार गर्नुपर्छ । चलचित्र निर्माणले मात्र रोजगारी सिर्जना गर्दैन । तसर्थ सिनेमालाई पर्यटनसँग जोड्नुपर्छ र डिजिटल सिनेमाको अवधारणालाई अघि बढाउनुपर्छ ।’ उनले समाजमा सिनेमा संस्कृतिको विकास गर्नपर्ने जनाउँदै यसका बारेमा बहस गर्नुपर्ने र नयाँ प्रविधि भित्र्याउन पूर्ण भन्सार छुट गर्नुपर्ने बताए । उनले भने, ‘चलचित्र विकास बोर्डमा स्टोरी बैंकको अवधारण सुरु भइसकेको छ । यो नीतिगत रुपमा पास भइसकेको र चलचित्रमा केही समय कथामा लगानी, केही समय, दक्ष प्राविधिक जनशक्तिमा लगानी राज्यले लगानी गर्नपर्दछ ।’

दाहालले सेन्सरको झमेलालाई अब अनलाइनमार्फत पनि व्यवस्थित बनाइनुपर्ने, कर्पोरेट हाउसलाई चलचित्रमा आकर्षण गराउनुपर्ने आवश्यक रहेको बताए । सोही अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि डा. बिन्दा पाण्डेले चलचित्र क्षेत्रमा क्रियाशील संगठनमार्फत नियम, कानुनहरू बाधा भएमा छलफलमार्फत समाधान गर्न आफू तयार रहेको बताइन् । उनले श्रमिकलाई परिचयपत्रदेखि करारपत्र प्रदान गराईं राज्यसँग दर्ज गर्ने व्यवस्था मिलाउँदै दस्तावेजीकरण गराउन अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुसार नेपालमा कार्यान्वयन गर्नुपर्ने जिकिर गरिन् । विधेयकमा समेत संशोधन गरी समय अवस्था अनुसार श्रमलाई रोजगारी, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको दायरामा ल्याउने, सामूहिक सौदाबाजी गर्ने, मर्यादित श्रमसँग जोड्न आवश्यक रहेको पाण्डेको भनाई छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य .डा रामकुमार फुयाँलले निफको यो बहस अर्थपूर्ण रहेको र चलचित्र उद्योगको रुपान्तरणमा विशेष महत्व राख्ने बताए ।

उनले भने, ‘नेपालीलाई स्वरोजगार र आत्मनिर्भर बनाउनमा चलचित्र उद्योग पनि महत्वपूर्ण गन्तव्य रहेको छ । सरकारको लक्ष्य अनुरुप वार्षिक ५ लाख युवालाई नयाँ रोजगारी सिर्जना गर्ने सहयोग हुने तथा बजेट निर्माणको पूर्वसन्ध्यामा गरिएको यो बहसले चलचित्र श्रेत्रमा बजेटिङमा सजिलो हुनेछ ।’ कार्यक्रममा कलाकार बसुन्धारा भुषाल, सुरक्षा पन्त, सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली, अर्थशास्त्री डा. विश्व पौडेल, पूर्वसचिव चन्द्र घिमिरे लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया