सुरु भयो निफ

काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण भर्चुअल माध्यमबाट सुरु भएको छ । बिहीबारबाट सुरु भएको महोत्सव भर्चुअल माध्यमबाट उद्घाटन गरिएको हो । ‘नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने लक्ष्यका साथ महोत्सव गरिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । उनले चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने निफको उद्देश्य रहेको बताउँदै कोरोना महामारीका कारण महोत्सव भर्चुअल माध्यमबाट गरिएको जनाए ।

प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सवले विभिन्न देशबीच आत्मीय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अबको चलचित्र बजारलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रियकरण गर्न निफजस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्न सक्ने जिकिर गरे । उनले भने, ‘अब स्टोरी बैंकमार्फत नेपाली चलचित्रलाई विश्वसामु लैजान आवश्यक गृहकार्यसमेत भइरहेको छ ।’

बोर्ड अध्यक्ष दाहालले कोरोना महामारीको बीचमा यो चलचित्र महोत्सवको विभिन्न प्यानलमा गहन छलफल गरी नेपाली चलचित्र, बजार र समाजबारे ठोस निचोड एवं निष्कर्ष निकाल्न आग्रहसमेत गरे । कार्यक्रमका विशेष अतिथिका रुपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फँुयालले निफजस्ता अन्तर्राष्ट्रिय चलचित्र महत्सवले चलचित्रको माध्यमबाट नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वसामु प्रचार गर्न सहयोग पुगेको बताए । उनले भने, ‘देशभित्र पनि धेरै रोजगारीको सिर्जना गरेको हुँदा यो क्षेत्रलाई सरकारी योजनाभित्र पार्न सक्दो पहल गर्ने कोशिस गर्दछु ।’

यसैबीच अग्रज चलचित्रकर्मी निर शाहले विगतदेखि सञ्चालित निफको कार्यक्रमलाई नजिकैबाट नियाल्दै आएको बताए । उनले छोटो समयमा नै निफले प्रशंसायोग्य गतिविधि सञ्चालन गर्दे आएको र यसको निरन्तरताका लागि सरकार र सरोकारवालाले विशेष सहयोग गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘सिनेमालाई अत्यन्तै नजिकबाट समाजसँग जोड्न निफको महत्वपूर्ण भूमिका रहेको छ । संगीत, साहित्य र सिनेमाको अध्ययन महत्वपूर्ण रहेको हुँदा यो समाजको ऐनाको रुपमा स्थापित भएको छ ।’ कार्यक्रममा अर्को अतिथि अन्तर्राष्ट्रिय फिल्म सोसाइटी फेडरेसनका अध्यक्ष पोर्चुगलका ज्वाओ पाउलो मसेदोले निफको अगिल्लो कार्यक्रममा आफू जुरी रहेको हुँदा नेपाली चलचित्र आफूले नजिकैबाट बुझेको बताए ।

चलचित्र निर्देशक तथा निफको फिचर फिल्म प्रतिस्पर्धाको प्रमुख निर्णायक रहेका तुलसी घिमिरेले निफको कार्यक्रम फलदायी र समय सान्दर्भिक रहेको बताए । उनले समग्र चलचित्र क्षेत्रको विकास र बिस्तारका लागि यसको भूमिका अतुलनीय रहेको सुनाए । साथै सो अवसरमा वृत्तचित्र र लघुचलचित्र प्रतिस्पर्धाकी प्रमुख निर्णायक भारतकी फजिया फतिमा, चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्र शाखी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला लगायतका वक्ताले निफको भूमिकाको प्रशंसा गर्दे निरन्तरताको लागि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उद्घाटन सत्रपछि भर्चुअल संस्करणमा भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाएका थिए ।

उनले आफू पटक पटक नेपाल आएको र नेपालका हिमशृंखलाहरुबाट प्रभावित भई सुटिङको योजनासमेत बनाइरहेको बताए । अनुरागले नेपालका मनोरम दृश्य, नेपाली कथा विश्वबजारले समेत उत्साहका साथ हेरिरहेको सुनाए । आफू लण्डनमा रहेको बेला डिभिडीबाट नेपाली चलचित्र हेर्ने गरेको सुनाउँदै उनले पछिल्लो समय कालोपोथी र सेतो सूर्य हेरेका प्रसंग उल्लेख गरे ।

प्रतिक्रिया