कवि तथा समालोचक मालीको निधन

काठमाडौं । कवि तथा समालोचक इन्द्र मालीको आज बिहान शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट पीडित उनी ७९ वर्षको थिए । नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य उनी सोही संस्थाका सदस्य सचिव पनि थिए ।

उनी नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता थिए । नेपाली भाषामा पनि कलम चलाउने उनका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् । नेपाल भाषामा हाइकू विधा भित्र्याउने श्रेय पनि उनलाई दिइन्छ । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनको आजै अन्त्येष्टि गरिँदैछ ।

प्रतिक्रिया