काठमाडौं । लेखक हरिभक्त सिग्देल ‘महेश’ द्वारा लिखित ‘एकमात्र’ पुस्तक बजारमा आएको छ । जीवन र जगतका साश्वत सत्यलाई उत्खनन् गरिएको पुस्तकमा धर्म र संस्कृतिका विविध आयामलाई वैचारिक, दार्शनिक, धार्मिक तथा तुलतात्मक अध्ययन गरिएको छ । विशेष गरी संसारमा प्रचलित विभिन्न धर्म र तिनमा रहेका दार्शनिक, सांस्कृतिक तथा सामाजिक पक्षलाई लेखकले केलाउने कोशिस गरेको पाइन्छ । पुस्तकको नाम ‘एकमात्र’ राखिनुको अर्थ दुनियाँमा जुनसुकै धर्म रहे तापनि तिनमा ईश्वर एकमात्र छन् भन्ने जनाइएको प्रतीत हुने डा.सुवर्ण शाक्यले उल्लेख गरेका छन् ।
उनले लगभग पाँचसय पृष्ठको यो एकमात्र पुस्तकको अन्त्यमा विविध धर्ममा भएका सृष्टिसम्बन्धी धारणाहरुका विषयमा अनि धर्म र ईश्वरका विषयमा तथ्य कुराहरु पत्ता लगाएर भोलिका सन्ततिलाई जानकारी दिनुपर्ने जनाउँदै भूमिकामा लेखेका छन्, ‘धर्म भन्नाले मानव–कल्याणको उद्देश्यले भूगोल, जलवायु अनुसार स्थापित धर्महरु सधैं उत्कृष्ट छन् । तापनि तिनमा लादिएका कुरीतिहरु बेलाबेलामा हटाइनुपर्छ भनी लेखक सिग्देलले आफ्नो कृति टुंग्याउनुभएको छ ।’
डो केवी रोकायाले सिग्देलले ज्यादै अध्ययन र मिहिनेत गरी पुस्तक लेखेको जनाएका छन् । उनले डाँडाको फेदीमा बस्ने व्यक्तिको भन्दा टुप्पामा पुग्ने व्यक्तिको हेराइ फराकिलो भएजस्तै आफ्नो आध्यात्मिक यात्रामा निकैमाथि पुग्न सफल भएका कारणले नै लेखकले यो पुस्तक लेखेको उल्लेख गरेका छन् । डा. रोकायाले लेखेका छन्, ‘आजको विश्व र हाम्रो देश नेपालको सन्दर्भमा यो पुस्तक निकै सान्दर्भिक, समसामयिक र उपयोगी सिद्ध हुने कुरामा विश्वस्त छु ।’
नेपाल डेभलप्मेन्ट सोसाइटीका अध्यक्ष नजरुल हुसैनले विभिन्न धर्म ग्रन्थहरुको अध्ययनपश्चात् तिनीहरुले दिएको मूल शिक्षाका आधारमा एकमात्र सत्य ईश्वरको पूजा, उपासना र भक्ति गर्ने सन्देश दिने उद्देश्यले लेखकले यो पुस्तक तयार पारेको बताएका छन् । उनले लेखक सिग्देलले विभिन्न धर्म ग्रन्थमा दिएको शिक्षा र मार्गनिर्देशनको गहिरो विश्लेषण गर्दै तिनीहरुमा पाइने समानतालाई खोज्ने प्रयत्नका पुस्तक तयार पारेको जिकिर गरेका छन् । उनले भूमिका लेख्नेक्रममा भनेका छन्, ‘प्रस्तुत पुस्तकले दिन खोजेको ‘एकमात्र’ सत्य ईश्वरको सत्य र विशुद्ध मार्गदर्शन पहिचान गर्न र त्यसैप्रति आस्थावान् बन्न र एकमात्र सत्य ईश्वरकै उपासनामा यसका पाठकवृन्दलाई मद्दत पुग्नेछ भन्ने आशा गरेको छु ।’
पुस्तकका बारेमा डा. ऋषिराम पोखरेलले लेखकले विश्वका प्रमुख धर्महरुको अध्ययन गरी लेखिएको बताएका छन् । उनले पुस्तकको प्रथम खण्डमा बुद्ध र बुद्ध धर्मको विशेषताबारे, द्वितीय खण्डमा क्रिश्चियन धर्म र पवित्र बाइबल शीर्षकमा ईशु र ईश्वरका दश आज्ञा, तेस्रो खण्डमा इस्लाम धर्म र कुरान–मस्जिद अनि चौथो खण्डमा वैदिक हिन्दु धर्म र धर्मशास्त्रका विविध पक्षको परिचय दिइएको उल्लेख गरेका छन् । डा. पोखरेलले लेखेका छन्, ‘विश्वका प्रमुख चार धर्म विषयमा एकै पुस्तकमा गम्भीर परिशीलन गर्ने प्रयत्न गरेकोमा सिग्देलजी विशेष धन्यवादका पात्र बन्नुभएको छ ।’ उनले पुस्तकको सार अथवा धर्मको लक्ष्य मानव कल्याण, समुन्नति र मुक्ति नै भएको जनाएका छन् । प्रा.डा. जीवन अधिकारीले पुस्तकले चार थरी धर्मका मूलभूत मान्यता र सिद्धान्त जान्न यस कृतिले सबै खाले पाठकलाई प्रामाणिक खुराक दिने जनाएका छन् ।
‘एकमात्र’ नामक कृतिमा आइपुग्दा सफलताका साथ मजबुत भएको छ । अहिलेसम्म प्रसिद्धिका समानान्तर गतिमा रहेका चार अध्यात्म दर्शनहरु सनातन हिन्दु धर्मदर्शन, अहिंसात्मक बुद्ध धर्मदर्शन, धर्म अनुसार पुरस्कार र दण्ड व्यवस्था उल्लिखित मुस्लिम धर्मदर्शन एवं समयको प्रवाहलाई आत्मसात् गर्दै अगाडि बढिरहेको क्रिश्चियन धर्मदर्शनलाई यस कृतिले समग्रमा बोकेको कलानिधि दाहालले उल्लेख गरेका छन् ।
प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलले यस कृतिमा पृथ्वीको उत्पत्ति, मानवजातिको सृष्टि र विकास, मावन सभ्यता र धर्म आदि विविध पक्षलाई अत्यन्त सरल भाषामा प्रस्तुत गरिएको जनाएका छन् । ज्ञान र विज्ञानको क्षेत्रमा नयाँ कुराहरु पनि आउँदै जान्छन्, वेद, त्रिपिटक, जैन धर्म ग्रन्थ, बाइबल, कुरान जस्ता बृहत्, गम्भीर, सुक्ष्म दृष्टिकोण राखेका कृतिहरुको पाँच वर्षमा अध्ययन गरेर कृति तयार गर्नु एक अर्थमा उपलब्धिपूर्ण हो भने अर्कोतर्फ अध्ययन दुस्साहसपूर्ण कार्य भएको डा. खेम कोइराला बन्धुले बताएका छन् ।
पुरुषोत्तम सिग्देलले निकै अध्ययन तथा खोजविन गरेर पुस्तक तयार पारिएको जनाएका छन् । त्यस्तै जुगल भुर्तेलले धार्मिक सहिष्णुताको एकमात्र आग्रह पुस्तक रहेको जिकिर गरेका छन् । उनले भूमिकामा लेखेका छन्, ‘आज संसार धार्मिक राजनीतिकै कारण त्राहि माम् देखिन्छ । यस्तो बेला एकमात्र को सन्देश लिएर आएको यो पुस्तकको महत्व असाध्यै धेरै छ ।’ पुस्तकका बारेमा युवराज मैनाली, विनयकुमार शर्मा नेपाल, डा.अवनिभूषण उपाध्याय, डा वीरेन्द्र महतो लगायतले पुस्तकले संसारमा चलेका धर्म र संस्कृतिलाई उजागर गर्दै त्यसका बारेमा जानकारी दिएको बताएका छन् ।
लेखक हरिभक्त सिग्देलले पुस्तकमार्फत संसारमा ईश्वर एकमात्र रहेको विषयलाई उजागर गर्न खोजेको बताए । उनले भने, ‘एउटा मालीले छानी छानी फूलहरु टिपेझैं मैले विविध धर्म र शास्त्रका लेखकहरुका पुस्तक र तिनका अनुवादबाट विषयवस्तु साभार गरी समाप्तिमा निष्कर्षमा मेरो अन्तरात्माको आवाजका रुपमा यो ‘एकमात्र’ अनुसन्धानात्मक कृति पस्किन सकेको हुँ ।’ शब्दार्थ प्रकाशन वितरक रहेको यस कृतिको प्रकाशन मीना सिग्देल उप्रेती गरेकी छन् ।
प्रतिक्रिया