कर्णालीमा तीन हप्तामै संक्रमितको संख्या दुई हजार नाघ्यो

कालिकोट । कोरोना भाईरसका बिरामीहरु कालिकोटलगाएत कर्णाली प्रदेशमा तीब्ररुपमा फैलिरहेको छ । समयमै पर्याप्त पूर्वतयारी नहुँदा कालिकोटमा संक्रमित बढ्दो अवस्थामा छन् । भारतमा कोरोना बढेपछि नेपालीहरु गाउँ फर्किने क्रम बढ्दो छ । तर, गत वर्षको जस्तो गरेर यसपाली क्वारेन्टाइन र आइसोलेसनहरु तयार स्थानिय सरकारले गरेका छैनन् ।

भारतबाट नागरिकहरु गाउँ पुगेसँगै कोरोना पनि गाउँ–गाउँमा पुगेको छ । यसको परिणामतः कर्णालीमा तीन हप्तामै कोरोना प्रदेशभर फैलियो । संक्रमणको दर यसरी फैलिएको छ कि बैशाख महिनामै साढे २३ सय नयाँ संक्रमित थपिएका छन् । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार तीन हप्ताको अवधिमा दुई हजार तीन सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

चैत मसान्तसम्म कर्णालीमा जम्मा ३६ जना मात्र सक्रिय संक्रमित थिए । तर तीन हप्तामै बढेर कुल संक्रमितको संख्या २ हजार ४ सय ६६ पुगेको छ । तथ्याङ्क अनुसार सुर्खेतमा सबैभन्दा बढी एक हजार तीनसय ३५ जना संक्रमित भएका छन् ।

यस्तै दैलेखमा दुईसय ३६ जना, जुम्लामा ९ जना, कालिकोटमा एकसय ९० जना, जाजरकोटमा एकसय ४३ जना, सल्यानमा तीन सय १६ जना, रुकुमपश्चिममा एकसय ९६ जना, मुगुमा पाँच जना र डोल्पामा ३२ जना संक्रमित थपिएका छन् । संक्रमण मात्रै बृद्धि भएको छैन, नागरिकको मृत्युदर पनि डर लाग्दो रुपले बढेको छ ।

कोही अक्सिजनको अभावमा त कोही अस्पताल जान नपाउँदै ज्यान गुमाउन बाध्य छन् । बैशाख लाग्नु अघिसम्म कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ जना मात्र थियो । तर, पछिल्लो तीन हप्तामा मात्र ३२ जनाको मृत्यु भएको छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण बैशाख ५ गतेदेखि नागरिकको मृत्यु हुन थालेको थियो ।

परिणामतः तीन हप्तामै संक्रमण र मृत्यु दर बढेका कारण कर्णालीलाई फेरि निषेधाज्ञा लागू गर्नुपर्ने अवस्थामा पुर्याएको छ । संक्रमण नियन्त्रण बाहिर जाने खत्तरा बढेपछि हाल कर्णालीका आठ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । संक्रमण दर उच्च भएपछि सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट, कालिकोटमा (आंशिक) निषेधाज्ञा लागू छ ।

बुधबारदेखि दैलेख, हुम्ला र डोल्पामा पनि निषेधाज्ञा लागू भएको छ ।प्रदेशमा संक्रमण फैलिंदै गएपछि चिकित्सकहरुले तत्काल जनशक्ति र पूर्वाधार थप गर्नुपर्ने बताएका छन् । ‘अहिलेको संक्रमण निकै जटिल छ, अधिकांशलाई अक्सिजन विना उपचार सम्भव छैन,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्का भन्छन्, ‘अवस्था भयावह हुन नदिन तत्काल दक्ष जनशक्ति र पूर्वाधार थपौं ।’

जिल्ला स्वास्थ कार्यालय कालिकोटका निमित्त स्वास्थ ब्यवस्थापक कटक बहादुर महतका अनुसार पछिल्लो २४ घण्टाभित्र कालिकोटमा तिब्र रुपमा कोरोनाका संक्रमण बढ्दै गएको छ । खाँडाचक्र नगरपालिकाले कोरोनाका बिरामीहरुका लागि कबड हलमा ४० बेडको आईशोलेशन कक्ष तयार गरेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया