प्रतिष्ठानले गर्यो संक्रमित कलाकारलाई आफ्नै भवनमा आइसोलेशनको व्यवस्था

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले प्रतिष्ठानसँग आवद्ध तथा भाडामा बस्ने कोरोना संक्रमित कलाकारहरुका लागि आफ्नै भवनमा निःशुल्क आइसोलेशनको व्यवस्था गरेको छ । दोस्रो चरणको कोरोना भाइरस (भेरियन्ट) को महामारी फैलिएपछि देशमा धेरै कलाकारहरुमा संक्रमण तीव्र गतिमा बढ्दै गएको छ ।

साथै, अस्पतालमा पनि आइसोलेशन बेड पाउन नसकेको अवस्थालाई मध्यनजर गरेर संक्रमित कलाकारहरुलाई यो सुवीधा उपलब्ध गराएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए । भाडामा बस्ने संक्रमित कलाकारहरुलाई घरधनीले बस्न नदिएको खण्डमा संक्रमितहरु समूह मिलेर प्रतिष्ठानको भवनमा निको नहुँदासम्म बस्न चाहनेलाई यो व्यवस्था मिलाइएको उनको भनाइ छ ।

यस अभियानलाई टोखा नगरपालकिा र चिरायु अस्पतालले पनि बिरामी कलाकारहरुका औषधोपचारमा सहकार्य गर्ने उनले बताए । ‘समस्या भएका संक्रमित कलाकारहरु समूह मिलेर बस्न चाहेमा हामीले यो सेवा दिइएको हो, आफूहरुले नै खाना बनाएर खान किचन पनि उपलब्ध छ र दाल चामलको व्यवस्था मिलाइने छ, बढी रोगले च्यापेको खण्डमा अस्पताल जान पर्ने हुन्छ, चिरायु अस्पतालसँग समन्वय गरेर उपचारमा सहज वातावरण हामीले नै मिलाइने छ’, अध्यक्ष बिजीले भने ।

१५–२० जनासम्म उक्त भवनमा अट्ने भएकाले सोही अनुसार व्यवस्था रहेको बताइएको छ । त्यस्तै, यस महामारीको समयमा खानाहरु, खानेपानी, किचन, ट्वाइलेटलगायत सबै सुवीधा उपलब्ध हुने पूर्वअध्यक्ष चन्द्र शर्माले पनि बताए । चिरायु अस्पतालका चिकित्सकहरुले संक्रमित कलाकारहरुको उपचार गर्ने उनको भनाइ छ ।

केही समय अगाडि कलाकारहरुकै उपचारमा सहजको लागि चिरायु अस्पताल र प्रतिष्ठानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । समस्यामा परेका कलाकारहरुलाई अध्यक्ष रमेश बिजीको फोन नम्बर ९८५१०६५५३८, महासचिव सुवास केसी ९८५१०११२८६३७ र प्रतिष्ठानकी वरिष्ठ महिला उपाध्यक्ष तथा कोभिड–१९ आकस्मिक सहयोग समिति संयोजक रिता थापा मगरको ९८५१०१६४३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया