हरिवंशको सन्देशमूलक गीत

काठमाडौं । अग्रज कलाकार हरिवंश आचार्यले कोरोना कहरका विषयमा केन्द्रित रही सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । कोरोनाको दोस्रो लहरले नागरिकमा सन्त्रास फैलिरहेका बेला उनले ४२ सेकेण्ड लामो गीत ल्याएका हुन् । सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरिएको गीतमा कोरोनाबाट बच्न र बचाउन सन्देश दिइएको छ । कलाकार आचार्यले अर्को जुनी कसैलाई पनि थाहा नभएको भन्दै यही जुनीमा कोरोनाबाट बच्नका लागि सजग हुन सबै नागरिकलाई गीतमार्फत आग्रह गरेका छन् ।

अहिलेको अवस्था निकै सन्त्रासमय भएको भन्दै उनले एक कलाकार हुनुको नाताले कोरोनासम्बन्धी सन्देशमूलक गीत ल्याएको जनाएका छन् । यस्तै, सामाजिक सञ्जालमा पनि जनचेतना जगाउने गीत ल्याएको भन्दै हरिवंशको प्रशंसा गरिएको छ । गत वर्षको असोजमा हरिवंश र उनको परिवारलाई कोरोना संक्रमण भएको थियो । यहीे बैशाखमा हरिवंशका जोडी अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ र उनको परिवारलाई कोरोना संक्रमण भयो । विश्वमै कोरोनाले ल्याएको स्वास्थ्य जटिलताले मानिसलाई जोखिममा धकेलिरहेको छ । ढिलो चाँडो जो कसैमा यो संक्रमण फैलनसक्ने जोखिम रहेका हरिवंशले कोरोनासम्बन्धी सन्देशमूलक गीत ल्याएका हुन् । उनले कोरोनालाई सामान्य रुपमा नलिन अपिलसमेत गरेका छन् ।

आचार्यले महसञ्चारको युट्युबमार्फत सार्वजनिक गरेको गीतको शब्द यस्तो–
अर्को जुनी खै कुन्नि
कसलाई थाहा छ र खै
यही जुनीलाई कोरोनाबाट बचौं है
दिनेशकुमार थपलियाको शब्द तथा दीपक शर्माले संगीत भरेको यो गीत सोमबार अपलोड गरिएको हो । आचार्यले कोरोनाको संकट दिनदिनै बढिरहेकाले जनचेतना जगाउने केही काम गर्न पाए हुन्थ्यो भन्ने लागेर गीत ल्याएको सुनाए । उनले गीतलाई सकेसम्म देशभरीका रेडियो÷एफएम र स्वास्थ्य मन्त्रालयको पहुँच भएका माध्यममा प्रसारण गर्ने कोशिस गरिने बताए । आचार्यले भने, ‘यो कोरोनासम्बन्धी गीतले कोरोनाबारे जनचेतना जगाउन मद्दत पु¥याउने विश्वास लिएको छु ।’ उनले धेरैले यो समस्यालाई गम्भीर रुपमा नलिएको हुन सक्ने लागेर गीत ल्याएको जिकिर गरे । उनले भने, ‘सकेसम्म सावधानी अपनाएर कोरोना लाग्न नदिनु राम्रो हो तर लागिहाले यसलाई जितेरै छोड्छु भन्ने आत्मविश्वास चाहिन्छ ।’

प्रतिक्रिया