कोरोनालाई खेलाँची नसोचौं–मदनकृष्ण

काठमाडौं । अग्रज कलाकार कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनालाई खेलाँची नसम्झिन आग्रह गरेका छन् । दोस्रो पटक कोरोना संक्रमित बनेर आठ दिन अस्पताल बसी शुक्रबार डिस्चार्ज भएका उनले एक भिडियो सन्देश जारी गर्दै कोरोनाबाट सुरक्षित बस्न सबै नागरिकलाई आग्रह गरेका हुन् । कलाकार श्रेष्ठ परिवारका पाँच जनामा कोरोना देखिएको थियो । ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएसँगै उनले यसपटकको कोरोनाले आफूलाई निकै गलाएको बताए । उनले कोरोनालाई खेलाँचीको रुपमा नलिइ सावधानी अपनाउन, मास्कको प्रयोग गर्न र नियमित सावुन पानीले हात धुन आग्रह गरे ।

उनले भिडियो सन्देशमा भनेका छन्, ‘आठ दिन मेडिसटी अस्पतालमा उपचार गरेर डिस्चार्ज भएर घर आएको छु । खुसी पनि लागेको छ । अस्पतालको सेवा राम्रो थियो । तर यो दुखको घडी हो । यो संसारलाई महासंकट, प्रलय भएको कोरोना कहर । यो बेला सबैले सबैलाई माया गरौं, सबैले सबैको राम्रो हित सोचौं । केही छैन जिन्दगी, केही रहिन्छ ।’ उनले शरीर फलामजस्तो लाग्थ्यो पहाड फोड्दिँउ जस्तो लाग्थ्यो तर हावा रहेछ सबै शरीर भन्दै सन्देशमा भनेका छन्, ‘केही रहिन्छ । त्यसकारण यो बेलामा कसैले कसैलाई पोलिटिकल इखबिख पोखेर कृतघ्न नबनाउन । मनलाई फोहर नबनाउ बाबा, बिन्ती छ । सबले सबको राम्रो सोचौं । एकले अर्कोलाई वैमनश्यता भाव पालेर केही छैन । मनमा राक्षस पलाउने मात्र रहेछ । राक्षस होइन भगवान पलाउन पर्छ । यो सबैलाई थाहा छ खाली मैले सम्झाउन खोजेको मात्र हो ।’

कलाकार श्रेष्ठले कोरोनाले एकदमै गाल्ने बताउँदै जिउ यस्तो बन्यो जिन्दगीमा नभोगेको गलाई भोगेको सुनाए । उनले भने, ‘पहिलाको कोरोनाले इम्युनिटी पावर जिरो बनाइदिँदो रहेछ इनर्जी बाँकी हुने रहेछ । त्यसको ठिक उल्टो रहेछ अहिले इम्युनिटी पावर बाँकी रहने इनर्जी पावर जिरो बनाइदिँदो रहेछ । प्लेटको भातसमेत चम्चाले लिन नसकिने, मुख त धेरै कोस टाढाको कुरा । मेरो पाँचै जना परिवारलाई कोरोनाले छोयो । पहिला एक जनालाई मात्र छोएको थियो यसपटक परिवारका परिवारलाई झ्याप्प पार्दो रहेछ । एकले अर्कोलाई, कसैले कसैलाई वास्ता गर्न सकिएको थिएन । तातो पानी कसले तताउने, खाना कसले बनाउने ।’

उनले आठ दिन बसेर आउँदा छिमेकीहरुले मिठोमिठो खुवाएको बताए । उनले भिडियो सन्देशमा भने, ‘देशभर यस्तै हुनुपर्छ । एकले अर्कालाई प्रेमको आँखाले हेर्ने संसार सुख हुन्छ । संसारको दुर्दशा रहेछ । सबै मिलेर कोरोनालाई जित्नुपर्छ । मास्क अत्यन्त जरुरी छ । असुरक्षित ठाउँमा नजानुहोला, जानेबित्तिकै मास्क लगाउनुहोला, दूरी कायम गर्नुहोला, सावन पानीले हात धुनुहोला अरु केही छैन यही हो ।’

प्रतिक्रिया