डोल्पा । अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी १० जेठदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।
‘देशभर कोरोना संक्रमणले धमाधम मान्छे मरिरहेका छन्, डोल्पामा पनि १० संक्रमित पुगिसके, यही दरमा संक्रमण बढे यार्सागुम्बा पाटन खुला गर्ने विषयमा पुनः एकपटक सोच्नुपर्ने हुन्छ, निर्णय पनि सोहीअनुसार भएको छ’, प्रजिअ ढकालले भने ।
प्रशासनको कर्तव्य सुरक्षा संयन्त्र परिचालनसँगै जनताको जीउधनको रक्षा गर्नु पनि भएकाले महामारीबाट सर्वप्रथम नागरिकलाई जोगाउनु पहिलो कर्तव्य भएको प्रजिअ ढकालको भनाइ छ । जिल्लावासीको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको बहुमूल्य जडिबुटी यार्सागुम्बा खोल्ने निर्णयसँगै अधिकांश नागरिकले खुसी व्यक्त गरेका छन् भने कतिपयले विरोध गरेका छन् । अधिकांश नागरिकले अघिल्लो वर्ष यार्सागुम्बा नखुल्दा जिल्लावासीको आर्थिक अवस्था धरासायी भएकाले यार्सापाटन खोल्ने निर्णय स्वागतयोग्य भएको बताए ।
मध्यवर्ती क्षेत्रका नागरिक, मध्यवर्ती क्षेत्रबाहेक जिल्ला भित्रका नागरिक र जिल्ला बाहिरका नागरिकका लागि छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ । त्यसमा क्रमशः पाँच सय, दुई हजार र तीन हजार रकम तोकिएको छ ।
प्रतिक्रिया