अपाङ्गता श्रीमान्को हेरचाह गर्ने श्रीमती नै आगोमा जलेपछि…

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–७ धयराघारी निवासी दीपक भण्डारी १२ वर्ष अगाडि कोत्रेमा सडक दुर्घटनामा परी घाइते भए । पोखराबाट घर फर्किदै गर्दा दुर्घटनामा परेर मेरुदण्ड भाँचिएपछि भण्डारी पूर्णरुपमा अपाङ्गता भए । यसयता उनी ओछ्यानमा थला परेका छन् ।

भण्डारीको हेरचाह तथा पालनपोषण श्रीमती कल्पना पौडेल भण्डारीले गर्दै आइन् । श्रीमान्को रेखदेख, हेरचाह र परिवारको पालनपोषणको जिम्मेवारी पनि कल्पनाको काँधमा आइलाग्यो । घरमै पसल सञ्चालन गरी परिवारको गुजारा चलाउँदै आएकी कल्पनाको जीवनमा गत वैशाख ३ गते दोस्रो ठूलो बज्रपात आइपर्यो । ग्यास पड्किएर घरमा आगलागी हुँदा कल्पनाको शरीरका विभिन्न भाग जलेको छ ।

श्रीमान्को हेरचाहमा व्यस्त हुनुपर्ने उनी आफैँ उपचारको लागि अस्पताल भर्ना हुनुपरेको छ । उनको हाल गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । अरुको सहराबिना शरीर चलाउन तथा दैनिक कार्य गर्न नसक्ने अवस्थामा श्रीमती पनि जलेर घाइते भएपछि थप पीडा थपिएको दीपकले बताए । ‘एकातिर आफ्नो पीडा त छँदै थियो, श्रीमती पनि जलेर घाइते भएपछि थप पीडा थपियो’, उनले भने, ‘हेरचाह गर्ने मान्छे नहुँदा मलाई पनि समस्या भइरहेको छ ।’

उनले श्रीमतीको उपचारका लागि आर्थिक अभाव भएपछि सबैसँग सहयोगको अपिल गरेका छन् । ‘घरमा पसल सञ्चालन गरेर गुजारा चलिरहेको थियो, श्रीमती नै घाइते भएपछि उसको उपचारका लागि पनि पैसा छैन,’ भण्डारीले भने, ‘सबैले सहयोग गरिदिए छिटो निको हुन्थ्यो की ।’

यसैबीच अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि स्रोत केन्द्र (रिसेड) तनहुँले आगलागीबाट घाइते कल्पनाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । रिसेडका अगुवा ईश्वर बास्तोला र किशोर न्यौपानेले उनको उपचारका लागि रु ६ हजार आर्थिक सहयोग गरेका हुन् ।

संस्थाका अध्यक्ष पदमबहादुर परियारले कल्पनाको उपचारका लागि आवश्यक समन्वय तथा सहयोग गरिरहेका छन् । कल्पनाको उपचारका लागि सहयोग गर्न चाहने व्यक्ति तथा सङ्घसंस्थाहरुले मुक्तिनाथ विकास बैंकको ००७२०६००१०५१२६०००००१ खातामा रकम जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया