काउन्सिलमा ‘इन माइ ड्रिम’

काठमाडौं । शिक्षा तथा सामाजिक क्षेत्रमा काम गर्दै शिवाता लभ फाउन्डेसनले स्थापनाको ५औँ स्मृति दिवसको अवसर पारेर ‘इन माइ ड्रिम’ चित्रकला प्रदर्शनी गरेको छ । बिहीबारबाट नेपाल आर्ट काउन्सिलमा सुरु भएको उक्त प्रदर्शनीको नेपालका लागि ब्राजिलियन राजदूत मारिया टेरेसा पेसाओले एक समारोहका बीच गरिन् ।

नेपालका लागि श्रीलंकाकी राजदूत हिमानी अरुनातिलाकाको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राजदूत मारियाले शिवाता लभ फाउन्डेसनले गरेको कामको प्रशंसा गर्दै प्रदर्शनीमा राखिएका मिथिला, गणेश लगायतका कला आफूलाई निकै मनपरेको बताइन् ।

श्रीलंकाकी राजदूत हिमानीले फाउन्डेसनले शिक्षा क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै छोरीका लागि राम्रो शिक्षाको आवश्यकता रहेको धारणा व्यक्त गरिन् । कार्यक्रममा बोल्दै फाउन्डेसनकी अध्यक्ष रागिनी उपाध्यायले कला र संस्कृतिले मानव सभ्यतालाई स्थायी र दिगो बनाउन सहयोग गरिरहेको बताउँदै छोरीको सम्झनामा संस्था स्थापना गरेको सुनाइन् ।

उनले भनिन्, ‘जुन समयमा शिवाताले सपना छोडेर गइन् कि त्यो सपना मैले पूरा गर्नका लागि यो काम गरिरहेको छु । शोकलाई शक्तिमा बदलेर शिवाताजस्तै अन्य छोरीलाई शिक्षाको लागि सहयोग गर्न पाउँदा मलाई खुसी लागेको छ ।’ उनले आफूले ‘टकिङ विथ माइ हाफ सोल’ नामक कृति पनि लेखिरहेको जानकारी गराइन् ।

कलाका माध्यमबाट समाजमा शिक्षाको ज्योति फैलाउने लक्ष्य आफूहरुले राखेको विचार व्यक्त गरिन् । ‘लभ इज आवर कि टु प्रिभेन्ट हुम्यानिटिज कोल्याप्स’ भन्ने नाराका साथ सन् २०१६ मा शिवाता लभ फाउन्डेसनको स्थापना भएको थियो । शिवाताको सन् २०१६ मा मेनेन्जाइटिस बि रोगबाट निधन भएको थियो । उनी रागिनी उपाध्यायकी छोरी हुन् ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वकुलपति समेत रहेकी रागिनी उपाध्याय, भारतीय कलाकार प्रा. जयकृष्ण अग्रवाल, अग्रज कलाकार विजय थापा, लोक चित्रकार, एससी समुन, मिथिला कलाकार सीतादेवी कर्ण, एरिना ताम्राकार, भीम शर्मा, मन गोल्डी, कीर्ति उपाध्याय, मधु अधिकारी, विनय रिमाल, गीता ठाकुर, डा. कुन्दन श्रीवास्तव, सुजन श्रेष्ठ, श्रीमिला श्रेष्ठ, सिद्धार्थ अधिकारी, सुलभ थापा मगर, लसता शाक्य, विनित मल्ल, मीरा महर्जन, विकास गुरुङ, निरजला डंगोल, ज्ञानु वाइवा, विवेक खोटेजा, रोजेश महर्जन, मैत्री शाक्य, रोजिना डंगोल, डेभिड महर्जन, सुदामा श्रेष्ठ, रोहित सुनुवारका कलाकृति राखिएको छ । कलाकृति बिक्रीबाट उठेको सम्पूर्ण रकम फाउन्डेसनमा जम्मा गरिनेछ । अप्रिल २८ सम्म चल्ने यस प्रदर्शनीमा ५० वटा कलाकृति राखिएको छ ।

प्रतिक्रिया