राष्ट्रिय ललितकला प्रदर्शनी

काठमाडौं । ललितकला क्षेत्रको कुम्भ मेलाका रुपमा चिनिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७८’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा २ वैशाखबाट सुरु भएको सो प्रदर्शनीको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । राष्ट्रपति भण्डारीले कला र संस्कृतिले राष्ट्रलाई समृद्ध बनाउने भएकाले यसको विकासमा राज्यले समुचित ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनले कलाकारले देशलाई चिनाउनका लागि अझै ध्यान दिनुपर्ने विचार व्यक्त गरिन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले कलाको विकासका लागि राज्यले विशेष ध्यान दिइरहेको जिकिर गरे । प्रतिष्ठानका कुलपति केके कर्माचार्यले प्रतिष्ठानले देशैभरका अधिकांश कलाकारले प्रदर्शनीमा सहभागिता जनाएको बताए । उनले प्रदर्शनीमा ४ सय ४४ कलाकारका ५ सय ९६ कलाकृति समावेश गरिएको जानकारी दिए ।

उनका अनुसार यस वर्ष प्रदर्शनीमा प्रदेश १ बाट ३१, प्रदेश २ बाट ६३, वाग्मती प्रदेशबाट २८९, गण्डकी प्रदेशबाट ४०, लुम्बिनी प्रदेशबाट ३३, कर्णाली प्रदेशबाट नौ र सुदूरपश्चिम प्रदेशबाट आठ कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । कुलपति कर्माचार्यले गत वर्षको प्रदर्शनी कोरोनाका कारण औपचारिकरुपमा नभए पनि भर्चुअल माध्यमबाट गरिएको बताए ।

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले कला विकासका लागि ललितकला प्रज्ञा प्रतिष्ठानले विविध गतिविधि गर्दै आइरहेको बताए । उनले ललितकला क्षेत्रलाई अझै गतिशील र प्रभावकारी रुपमा अगाडि बढाउन प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी गर्दै आएको जिकिर गरे । प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले विविध समस्याका बीच प्रतिष्ठानले प्रभावकारी रुपमा कार्यक्रम गर्दै आइरहेको धारणा व्यक्त गरे ।

राष्ट्रिय ललितकला प्रदर्शनीको अवसरमा प्रदान गरिँदै आएको ‘राष्ट्रिय अरनिको प्रज्ञा सम्मान’ कलाकारद्वय वत्सगोपाल वैद्य र प्रवीणकुमार श्रेष्ठलाई प्रदान गरियो । उक्त सम्मानको राशी जनही नगद एक÷एक लाख र ताम्रपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार नवीन्द्रमान राजभण्डारी र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार सञ्चारकर्मी दीपक श्रेष्ठ विहिनलाई प्रदान गरिएको छ ।

यस्तै, राष्ट्रिय ललितकला पुरस्कारअन्तर्गत हस्तकला÷शिल्पकला विधातर्फ अनुकुमार केसी, मूर्तिकलातर्फ भाजुरत्न शाक्य (परम्परागत) र तमबहादुर पुन (आधुनिक), परम्परागत चित्रकलातर्फ राजकुमार राना, आधुनिक चित्रकलातर्फ कृष्णप्रकाश शाह, लोककलातर्फ हरेराम यादव र वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ प्रकाश पुनमगरलाई पुरस्कार प्रदान गरियो ।

उक्त पुरस्कारको राशि जनही ६० हजार रहेको छ । प्रतिष्ठानले जनही नगद २५ हजार राशी रहेको विशेष पुरस्कारतर्फ विधागतरुपमा १७ जना कलाकारलाई प्रदान गरियो । जसमा हस्तकलामा राजेन्द्र देशार र मिना थारु, परम्परागत मूर्तिकलामा रामसुन्दर त्वाटी र कृष्णगोपाल गारु, आधुनिक मूर्तिकलामा राजु पिठाकोटे र राजेश बराल, परम्परागत चित्रकलामा सुन्दर श्रेष्ठ र छेवाङ तामाङ, आधुनिक चित्रकलामा राजु लामा योञ्जन, मन गुरुङ, राजनकुमार पन्त, लोककलामा नम्रता सिंह, रुवी कर्ण, वास्तुकलातर्फ सुशीला सिंह, इरिक नकर्मी, सुजन श्रेष्ठ र सौरभ कोइराला रहेका छन् ।

त्यसैगरी, प्रादेशिक पुरस्कारतर्फ प्रदेश १ बाट शक्तिमान राई, प्रदेश २ बाट गीताकुमारी ठाकुर, वागमतीबाट मानबहादुर बल, गण्डकीबाट विश्वराज पराजुली, लुम्बिनीबाट विश्व थापा मगर, कर्णालीबाट गुर्मे तेन्जिङ लामा र सुदूरपश्चिमबाट जीतबहादुर आउजीले २५ हजार राशिसहितको पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनीलाई सफल र भव्य बनाउनका लागि कुलपति कर्माचार्यको संयोजकत्वमा ८४ सदस्यीय मूल समिति बनाएको जनाएको छ । प्रतिष्ठानले पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरेपछि प्रदर्शनीको आयोजना गरेको कुलपति कर्माचार्यले जानकारी दिए ।

प्रतिक्रिया