अनौठो संयोग

कहिलेकाहीँ संयोग पनि अनौठो पर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीका अवसरमा सक्कली अयोध्या नेपालकै माडी तथा ठोरी क्षेत्र भएको प्रमाण फेला परेको दावी गर्दै गर्दा छिमेकी मुलुक भारतले धेरै नै कडा आपत्ति जनायो । भारतको आपत्तिलाई बल पुग्ने गरी अभिव्यक्ति दिनेहरू पनि नेपालमा प्रसस्त देखिए । जसमध्ये अग्रपंक्तिमा थिए, ‘पूर्वराजा ज्ञानेन्द्र शाह ।’

उनले प्रधानमन्त्री ओलीको भनाई बारे असहमति प्रकट गर्दै विज्ञाप्ति नै जारी गरेर भारतको आपत्तिमा बल पुर्याए । यता प्रधानमन्त्री ओलीले माडीको अयोध्यापुरीमा राममन्दिर निर्माण गर्ने प्रतिवद्धतासहित प्रक्रियासमेत अघि बढाए । घोषणा गरेको १० महिना बित्दा नबित्दै राम नवमीको अवसर पारेर प्रधानमन्त्री ओलीको विशेष पहलमा अयोध्यापुरीमा यही वैशाख ९ गते बुधबार राम, सीता र हनुमानको मूर्ति स्थापना गरिएको छ ।

सरकारले अयोध्यापुरीमा मूर्ति स्थापनाको अन्तिम तयारी गर्दै गर्दा पूर्वराजा शाहलाई भारतका केही हिन्दू साधुहरूले बहालवाला श्री ५ कै सम्मान दिएर हरिद्वारमा आयोजित महाकुम्भ मेलामा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरे । ज्यादै उत्साहका साथ करिब एक साता हरिद्वार तथा भारतका विभिन्न ठाउँमा हिन्दू सम्राटको सम्मान ग्रहण गर्दै पूर्वराजा शाह गत आइतबार स्वदेश फर्के ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारबाट राम, सीता र हनुमानका मूर्ति अयोध्यापुरी पठाउँदै गर्दा पूर्वराजा शाहको सचिवालयबाट एउटा विज्ञप्ति जारी भयो । यो विज्ञप्ति अयोध्यापुरीकै विषयमा हुन सक्ने अनुमान धेरैको थियो, तर विज्ञप्ति पूर्वराजा शाह र उनकी पत्नी कोरोना संक्रमित भएको विषयमा रहेछ ।

भारतको हरिद्वारमा आयोजित भिडभाडमा सहभागिताका कारण पूर्वराजा शाह दम्पती कोरोना संक्रमित भएका हुन् । भन्ने कुरामा कुनै सन्देह छैन । भारतमा यतिबेला दैनिक पौने तीन करोडको हाराहारीमा कोरोना संक्रमित बढिरहेका छन् । यसको मुख्य कारण हरिद्वारमा आयोजित कुम्भ मेला नै हो । सर्वसाधारणलाई खोप उपलव्ध नभइसकेको अहिलेको अवस्थामा कोरोना संक्रमण वृद्धि रोक्ने एक मात्रै उपाय भनेको मानिस मानिसबीचको भौतिक दुरी अली टाढा बनाउने नै हो ।

तर, मंगलबार आफ्नो निवास बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले जम्मा गरेको भिड हरिद्वारको कुम्भ मेलाभन्दा कम सघन थिएन । जब धार्मिक क्रियाकलापमा राजनीति मिसिन्छ तब अवस्था भयावह हुन्छ । पूर्वराजा शाह र प्रधानमन्त्री ओली दुवैले धार्मिक क्रियाकलापलाई आफ्नो निजी राजनीतिक स्वार्थ सिद्धिको साधन बनाइदि“दा मुलुकमा कोरोना संक्रमण भयावह हुने अवस्था उत्पन्न भएको छ ।

सामन्तवादी दर्शनको मुख्य जग नै धर्मका नाममा राजनीति हो । पुँजीवादीहरूले पनि केहीहदसम्म आफ्नो राजनीतिक तुष्टि पूरा गर्न धार्मिक क्रियाकलापको आड लिने गरेका प्रसस्त उदाहरण छन् । तर, कम्युनिस्ट दर्शनले धार्मिक क्रियाकलापलाई विकास र प्रगतिको बाधक ठान्छ । कार्लमाक्सले त धार्मिक क्रियाकलापलाई अफिमका रूपमा परिभाषित गरेका छन् । तर, नेपालका सन्दर्भमा हेर्ने हो भने कम्युनिष्ट नेताहरूको धार्मिक क्रियाकलापप्रति अनौठो मोह देखिएको छ ।

समाजमा रहेको अन्धविश्वास हटाउने प्रयत्न गर्नुभन्दा अन्धविश्वासकै आडमा आफ्नो राजनीतिक स्वार्थसिद्धि गर्ने प्रयत्नमा कम्युनिस्ट नेताहरू जुटेको देखिन्छ । यसको ज्वलन्त उदाहरण बनेका छन् प्रधानमन्त्री ओली । ४४ दिनसम्म संसद चल्दा एकपटक पनि बैठकमा उपस्थित हुने फुर्सद प्रधानमन्त्री ओलीले पाएनन् । तर, झिनामसिना धार्मिक क्रियाकलाप तथा पूजाअर्चनामा भने उनलाई कत्ति पनि समयको अभाव छैन ।

तर, अन्तरआत्मादेखि नै उनी धार्मिक क्रियाकलापमा सहभागी भएका भने होइनन् । विशुद्ध राजनीतिक स्वार्थ हो । पूर्वराजा शाह जुन स्वार्थका साथ धार्मिक क्रियाकलापमा सहभागी हुने गरेका छन्, ओलीको सहभागिता पनि त्यस्तै स्वार्थ हो । हुँदाहुँदा प्रधानमन्त्री ओलीले भन्ने गरेका छन्, ‘पुराणमा वर्णित रामराज्य र कार्लमाक्सले भनेको साम्यवाद एउटै हो ।’ यस्ता अभिव्यक्ति तथा क्रियाकलापले नया“ पुस्तालाई निश्चय पनि गलत सन्देश दिन्छ ।

प्रतिक्रिया