पुरस्कृतको नाम सार्वजनिक

झापा । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले नेपाल राष्ट्रको गरिमा बढाउन योगदान पुर्याउने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्ति र संस्थालाई दुई वर्षको अन्तरालमा पाँच लाखको ‘श्रीप्रसाद ओली प्रज्ञान पुरस्कार’ दिने घोषणा गरेको छ । साहित्य, विज्ञान, पत्रकारिता, कृषि, सामाजिक सेवालगायत क्षेत्रका प्रतिभालाई बर्सेनि पुरस्कृत गर्दै आएको प्रतिष्ठानले बिर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

झापाका समाजसेवी श्रीप्रसाद ओलीले २०६७ सालमा एक करोडको अक्षयकोष राखी प्रतिष्ठानको स्थापना गरेका थिए । उनको देहान्तपछि छोराहरूले पुरस्कार तथा सम्मानको कार्यलाई निरन्तरता दिँदै आएका छन् । प्रतिष्ठानले कफी खेतीको विकास, प्रवद्र्धन र बजार विस्तारमा अनुकरणीय योगदान पुर्याएको भन्दै पाल्पा मदनपोखरा–७ का ढकेश्वर घिमिरे र काठमाडौं–३१ का प्रचण्डमान श्रेष्ठलाई संयुक्त रूपमा नगद एक लाख एक हजार १ सय ११ को ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०२०’ प्रदान गर्ने निर्णय गरेको छ ।

कारागारका कैदी महिलासँग आश्रित तथा सहाराविहीन बालबालिकाको शिक्षा, स्वास्थ्य, सीप विकास र लालनपालनमा विशेष योगदान पु¥याएकामा कदर गर्दै प्रतिष्ठानले झापाको अर्जुनधारा–११ निवासी इन्दिरा रानालाई एक लाख एक हजार १ सय ११ सहित ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०२०’ बाट पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

अध्यक्ष ओलीका अनुसार प्रतिष्ठानले मोफसलमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेर उल्लेखनीय सेवा गरेका दाङ घोराही–१८ निवासी दधिराम सुवेदीलाई एक लाख एक हजार १ सय ११ सहित ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०२०’ दिने निर्णय गरेको छ ।
यसैगरी, मुसहर समुदायका बालबालिकाको हकहित र बालविवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएको मोरङको बूढीगंगा–२ मा रहेको रक्षा किशोरी समूहलाई नगद ५१ हजार १११ सहित ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०२०’ का लागि छनोट गरिएको उनले बताए ।

जुडो विधामा तेह्रौँ साग खेलकूदमा स्वर्ण पदक प्राप्त गरी देशको गौरव अन्तर्राष्ट्रिय जगत्मा बढाउन मद्दत पुर्याएको भन्दै प्रतिष्ठानले झापा गाउँपालिका–२ की देविका खड्कालाई नगद २५ हजार १ सय ११ सहित सम्मान गरिने भएको छ । साहित्यतर्फ सक्रिय रूपमा कलम चलाएर नेपाली भाषा र साहित्यको सेवा पु¥याएबापत झापाको कनकाई निवासी साहित्यकार कोमलप्रसाद पोखरेललाई ५१ हजार १ सय ११ सहित ‘श्रीप्रसाद ओली साहित्यिक पुरस्कार’ प्रदान गरिने भएको छ ।

अध्यक्ष ओलीका अनुसार यसै वर्षदेखि प्रतिभा छनोट हुनेगरी क्यान्सर र त्यस्तै प्रकृतिको गम्भीर रोगको निवारणका लागि खोज तथा अनुसन्धान गर्ने व्यक्ति तथा संस्थालाई प्रत्येक वर्ष एक लाख एक हजार १ सय ११ को बद्रीप्रसाद ओली स्मृति पुरस्कार घोषणा गरिएको छ ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण वितरण हुन नसकेका रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार (गोर्खाको पालुङटार–७, राजेन्द्रराज पन्त), गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार (दोलखा तामाकोशी–२, सृजना कार्की), अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार (झापाका चुडामणि रेग्मी) र देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार (शिवसताक्षीका प्रितम काफ्ले) समेत यसपटक वितरण गरिने भएको छ । यही वैशाख १४ गते बिर्तामोडमा विशेष कार्यक्रमबीच घोषित सबै पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया