प्रज्ञामा पुस्तक प्रदर्शन

काठमाडौं । नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नयाँ वर्ष २०७८ का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी सुरु गरेको छ । गत चैत ३१ गतेदेखि शुरु भएको प्रदर्शनी यही वैशाख १४ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानको पुस्तक बजार व्यवस्थापन प्रमुख सुधीर ढुंगेलले जानकारी दिए । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको छ । एउटा शब्दकोश किन्दा १५ र दुई शब्दकोश किने २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

प्रदर्शनीमा ४२२ प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका राखिएको छ । बालसाहित्य, समालोचना, कोश, दर्शन, इतिहास, संस्कृति, डायस्पोरा लगायत विविध विधाका पुस्तक प्रदर्शनीमा राखिएको ढुंगेलले जानकारी दिए । समकालीन साहित्य, कविता, प्रज्ञा, आँगनलगायत पत्रिका पनि प्रदर्शनीमा राखिएको छ । हात हातमा प्रज्ञाका पुस्तक पुर्याउन प्रदर्शनीले सहयोग गर्ने उनको विश्वास छ ।

प्रज्ञाका पुस्तक निजी क्षेत्रका व्यवसायीबाट पनि बेचबिखन गराउने उद्देश्यले टेण्डरसमेत आह्वान गर्न लागिएको छ । मोफसलसम्म पनि सहज रूपमा प्रज्ञाले प्रकाशन गरेका पुस्तक पाउने व्यवस्था गर्न लागिएको बजार व्यवस्थापन शाखा प्रमुख ढुंगेलले जानकारी दिए । पाठकको माग भएमा वैशाख १४ गतेपछि पनि प्रदर्शनी जारी राखिने जनाइएको छ ।

यस्तै, प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ । ‘लेखक–साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ । संशोधनसहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्रा डा योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको हो ।

कुलपति उप्रेतीले मुलुकका वाङ्मय साधकलाई ‘लेखक–साहित्यकार परिचयपत्र’ दिने पहिलेदेखिकै योजना कार्यान्वयन गर्न यही महीनाभित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण शुरुआत गरिने जानकारी दिए । प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार परिचयपत्रमा लेखक–साहित्यकारका नाम–उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ । परिचयपत्र पाउन सम्बन्धित लेखक–साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया