टेकनाथको उपन्यास बजारमा

काठमाडौं । साहित्यकार टेकनाथ दहालको उपन्यास ‘विवर्तन’ बजारमा आएको छ । महाभारतको पात्र पृथा (कुन्ती) लाई मुख्यपात्र बनाएर लेखिएको उक्त कृतिको सर्वनाम थिएटरमा कवि डा.विष्णुविभु घिमिरे, समालोचक डा. लक्ष्मणप्रसाद गौतम, डा. ज्ञानु पाण्डे र लेखक दहालले संयुक्त रुपमा विमोचन गरे ।

उक्त कृतिमाथि टिप्पणी गर्दै डा. लक्ष्मणप्रसाद गौतमले महाभारत विशाल सागर भएकाले त्यसबाट जति पनि उपकथा निकाल्न मिल्ने जिकिर गरे । उनले भने, ‘विवर्तनमा महाभारतमा नभनिएका सूक्ष्म घटनालाई रोचक ढंगले भनिएको छ । महाभारतको सामान्य ज्ञान भएका पाठकलाई विवर्तनले आकर्षित गर्नेछ ।’

डा.ज्ञानु पाण्डेले उपन्यासले महिलाको सत्व महिलामै निहित रहेको विषयलाई उठान गरेको विचार व्यक्त गरिन् । उनले महिला भोग्ने विषय भनेर गरिएको सामाजिक परिभाषाको विपक्षमा उपन्यास उभिएको जिकिर गरिन् । उनले भनिन्, ‘महाभारतकी कुन्तीको कथालाई आजको युगीन शैलीमा भन्न लेखक सफल छन् ।’

कर्यक्रममा कवि डा.विष्णुविभु घिमिरेले नयाँ वर्षको सुरूमै पठनीय उपन्यास प्रकाशनमा आएको बताए । उनले लेखकको कल्पनाशीलताको प्रशंसा गर्दै उपन्यासको कथाले सबैलाई तान्न सक्नेमा आफू विश्वस्त रहेको धारणा राखे । वाल्मीकि क्याम्पसमा उपप्राध्यापक रहेका उपन्यासकार दहालको ‘विवर्तन’ पहिलो उपन्यास हो । उपन्यासलाई ‘इन्डिगो इन्क’ ले प्रकाशन बजारमा ल्याएको हो ।

प्रतिक्रिया