धनगढी । सुदूरपश्चिम प्रदेशमा १ सय ५७ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । पछिल्लो तीन महिना अर्थात (सन् २०२१ जनवरीदेखि मार्चसम्म) मा उक्त मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका हुन् ।
सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा १४ राज्यपक्षबाट र १ सय ४३ वटा गैरराज्य पक्षबाट मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले राज्य पक्षबाट गिरफ्तारीबाट तीन पुरुष, भेला तथा संगठित हुन पाउने अधिकार उल्लंघनबाट सात जना पुरुष पीडित भएको बताउँदै कुटपिटबाट एक पुरुष, धम्कीका घटनाबाट एक जना पुरुष पीडित भएको बताए । दुई जना पुरुष राज्य पक्षबाट घाइते भएको उनले जानकारी दिए ।
गैर राज्य पक्षबाट महिलाअधिकार उल्लंघनका घटनाबाट १ सय १३ जना महिला पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसैगरी गैर राज्य पक्षबाट कुटपिटका चार, हत्याका नौ, जातीय विभेदको एक र बालअधिकार हनन्का १६ घटना भएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ ।
सन् २०२० को अन्तिम तीन महिना अर्थात अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिनामा राज्य पक्षबाट सात र गैर राज्य पक्षबाट १ सय ४० गरी १ सय ४७ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको कार्यालयको तथ्यांक छ । सो तीन महिनाको अवधिभन्दा सन् २०२१ जनवरीदेखि मार्चसम्मको तीन महिनाको अवधिमा मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको देखिन्छ ।
राज्यको सुरक्षा संयन्त्र कमजोर हुँदा मानवअधिकार उल्लंघन र ज्यादतिका घटनामा वृद्धि हुने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताए । उनले भने, ‘राज्यले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकाले यस्ता घटना बढेका हुन् ।’ यसमा राज्य जिम्मेवार र जवाफदेही हुन जरुरी भएको संयोजक जोशीको भनाइ छ ।
सन् २०२१ जनवरीदेखि मार्चसम्मको तीन महिनाको अवधिमा सबैभन्दा बढी १ सय १३ महिलाअधिकार उल्लंघनका घटनाहरू भएको इन्सेकको तथ्यांकमा उल्लेख छ । महिला अधिकारको क्षेत्रमा कानुन बने पनि कार्यान्वयनको पाटो कमजोर भएका कारण महिलाअधिकार उल्लंघनका घटनामा वृद्धि भएको दलित महिला अधिकार मञ्च नेपाल कैलालीका अध्यक्ष सावित्रा घिमिरेले बताइन् । समाजमा महिलालाई हेर्ने दृष्टिकोण पनि ठीक नभएको र पितृ सतात्मक सोचका कारण महिलाअधिकार हनन्का घटना बढेको उनको भनाइ छ ।
कैलाली
प्रतिक्रिया