सुदूरपश्चिममा बाली उत्पादकत्व वृद्धि

उन्नत बिउवीजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गहुँलगायत मुख्य बालीको उत्पादकत्व पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ । सिँचाइको सुविधा पहिलेको भन्दा थप क्षेत्रमा विस्तार हुँदै गएको र किसान कृषिसम्बन्धी प्रविधिसँग जानकार हुँदै गएकाले उत्पादन बढ्दै गएको क्षेत्रीय कृषि विकास निर्देशनालयले जनाएको छ । ‘उन्नत बिउको प्रयोग र किसान कृषिका प्रविधिसँग जानकार हुँदा धान गहुँ लगायतका बालीको उत्पादन र उत्पादकत्व पनि बढेको छ,’ निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने, ‘पहाडका ६ जिल्लामा भने खाद्यान्न उत्पादन पर्याप्त नहुँदा तराईका जिल्लावाट आपूर्ति हुने गरेको छ ।’

पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडीमा हुने विभिन्न बालीको उत्पादनले ती जिल्लाको जनसंख्याका लागि खाद्यान्न अपर्याप्त हुने गरेको जनाइएको छ । तराईको कैलाली, कञ्चनपुर र पहाडको डडेलधुरा जिल्लामा उत्पादन हुने खाद्यान्नले ती जिल्लाको खाद्यान्न अभाव नहुने जनाइएको छ । प्रदेशका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुर जिल्लामा धान, मकै र गहुँ खेती गरिने क्षेत्रफल र उत्पादन परिमाण पहाडी जिल्लाको भन्दा बढी छ । आर्थिक वर्ष ०७५–७६ को तथ्यांकका अनुसार प्रदेशमा १ लाख ८१ हजार ३ सय ९८ हेक्टर जग्गामा गरिएको धान खेतीको उत्पादन ६ लाख १० हजार ३ सय २८ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ३६ मेट्रिक टन थियो ।

आर्थिक वर्ष ०७६-७७ मा सम्म आइपुग्दा १ लाख ८७ हजार ३२ हेक्टरमा धान खेती गरिएकोमा उत्पादन ६ लाख ५८ हजार ४ सय २९ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन पुगेको छ । मकै बाली आव ०७५-७६ मा ५० हजार ५ सय ६९ हेक्टरमा गरिएकोमा ९३ हजार ३ सय ८६ मेट्रिक टन उत्पादन र उत्पादकत्व प्रतिहेक्टर १ दशमलव ८५ मेट्रिक टन थियो । आव ०७६-७७ मा आइपुग्दा मकै खेतीको क्षेत्रफल ५१ हजार ३ सय ३२ हेक्टर पुग्दा उत्पादन ९२ हजार ८ सय ७५ मेट्रिक टन तथा उत्पादकत्व प्रतिहेक्टर दुई मेट्रिक टन पुगेको छ ।

आव ०७५–७६ मा १ लाख ४२ हजार ७ सय ३९ हेक्टरमा गहुँको खेती गरिएकोमा उत्पादन ३ लाख २० हजार ८२ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर २ दशमलव २४ मेट्रिक टन थियो । आव ०७६–७७ मा आइपुग्दा यो बालीको खेती १ लाख ५३ हजार १ सय ४६ हेक्टरमा गरिएकोमा उत्पादन ३ लाख ३८ हजार ६ सय ५९ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर दुई मेट्रिक टन पुगेको छ । अघिल्लो वर्षको तुलनामा आव ०७६÷७७ मा गहुँखेती गरिएको क्षेत्रफल बढेको भए पनि प्रतिकूल मौसमका कारण उत्पादकत्व भने केही घटेको देखिएको छ ।

तथ्यांकमा प्रदेशमा कोदो १८ हजार ८७ हेक्टर, फापर ३ सय ४८ हेक्टर र जौँ बालीको खेती ९ हजार १ सय १९ हेक्टरमा गर्ने गरिएकोमा यी बालीको उत्पदकत्व पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको उल्लेख छ । कोदो र फाँपरको खेती पहाडी र हिमाली जिल्लामा हुने गरेको छ ।
यसबाहेक प्रदेशमा वार्षिक तेलहन ३५ हजार ३ सय २० र दलहन ४८ हजार ४ सय ८, आलु २ लाख ७ हजार ९८१, उखु २ लाख ४१ हजार १ सय ५७ र ताजा तरकारी ३ लाख ४५ हजार १ सय ३४ मेट्रिक टन उत्पादन हुने गरेको छ । पशुपंक्षीजन्य पदार्थको उपलब्धतातर्फ दूध २ सय ४४ हजार मेट्रिक टन, मासु ३१ हजार मेट्रिक टन र फुल नौ करोड गोटा उत्पादन हुने गरेको छ । चालु आर्थिक वर्षमा विभिन्न बालीको उत्पादन बारेको तथ्यांक तयार हुन बाँकी रहेको जनाइएको छ ।

‘क्रफ कटिङ’का आधारमा विभिन्न बालीको उत्पादन र उत्पादकत्वको तथ्यांक निकाल्ने गरिन्छ । प्रदेशमा कुल खेतीयोग्य जग्गामध्ये झण्डै ५४ प्रतिशत जग्गामा सिँचाइको सुविधा भएकोमा बाँकी जग्गामा आकाशको पानीका भरमा खेती हुने गरेको छ । प्रदेश सरकारको बजेट नीति कार्यक्रममा कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइएको छ ।

पञ्चशक्ति सिड कम्पनी प्रालि कैलालीका सञ्चालक विष्णुराज बुर्लाकोटीले पछिल्ला वर्षमा कृषि प्रसारका क्षेत्रमा काम राम्रो हुँदा बालीको उत्पादन बढेको बताए । ‘कृषक उन्नत बीउको पहुँचमा सहज ढंगले पुग्दा बालीको उत्पादन पनि बढेको देखिएको छ,’ उनले भने । प्रदेशमा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रबाट अनुमति लिएर उन्नत बिउवीजन उत्पादन गर्ने निजी कम्पनी स्थापना भइरहेका छन् ।

खेत खनजोत गर्ने, बाली काट्ने र झार्नेजस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई गहुँ र धानलगायत खेती गर्न पहिलेको भन्दा सहज हुँदै गएको छ । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रमसमेत कम गर्नुपर्ने हुँदा पहिलेको भन्दा निकै सहज भएको कैलालीका किसान भोजराज ओझाले बताए । ‘पहिले गोरुले नै खेत खनजोत गर्ने र पाकेको बाली दाइँ गर्नुपथ्र्यो, पछिल्ला वर्षमा ट्रर्याक्टर, पावर टिलर, थ्रेसर मेसिनजस्ता आधुनिक कृषियन्त्रको प्रयोग बढ्दा निकै सहज भएको छ,’ उनले भने, ‘समयमै मलखाद, बीउवीजन, सिँचाइको सुविधा नहुने समस्या हुँदा समस्या हुने गरेको छ ।’

खेतमा रासायनिक मलखादको जथाभावी प्रयोगले भने माटो बिग्रँदै गएको किसानको अनुभव छ । बाली लगाउँदा गोबर कम्पोष्ट मलको प्रयोग घट्दै जाँदा यसको विकल्पमा प्रयोग गर्ने गरिएको रासायनिक मलले माटो बिग्रेको ओझाले बताए । सुदूरपश्चिम प्रदेशका किसानलाई यतिवेला गहुँबाली काटेर भित्र्याउने चटारो बढेको छ । कोरोना भाइरस संक्रमणको जोखिम भए पनि पाकिसकेको गहुँबाली भित्र्याउनै परेको स्थानीय किसान रामबहादुर चौधरीले बताए ।

उनले भने, ‘कोरोना फेरि बढेको सुनिन्छ, कोरोनाले केही त्रास बढाए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिई गहुँबाली काट्नै प¥यो ।’ किसानको मुख्य आम्दानी स्रोतको रुपमा गहुँ र धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने खाद्यान्न घरमा भण्डारण गरी बढी भएको गहुँ र धान बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् । कृषि निर्देशनालयका निर्देशक जोशीले यस वर्ष गहुँ उत्पादन गत वर्षभन्दा केही वृद्धि भएको अनुमान गरिए पनि यकिन तथ्यांक आउन समय लाग्ने बताए ।

प्रतिक्रिया