मदनको ‘थर्टस् एण्ड म्युजिङ्स’ सार्वजनिक

काठमाडौं । ललितकला विषयमा कलाकार तथा कलालेखक मदन चित्रकारद्वारा लिखित ‘थट्र्स एण्ड म्युजिङस्’ पुस्तक बजारमा आएको छ । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कृतिको विमोचन गर्दै कला र संस्कृतिले समाजलाई जीवन्त बनाउने विचार व्यक्त गरे ।

उनले पूर्खाले दिएको संस्कृतिलाई जर्गेना गर्दै हामीले पनि अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको जिकिर गरे । प्रमुख शाक्यले कला बचाउने र त्यसलाई प्रवर्धन गर्ने काममा महानगरले कलाकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक संगीता थापाले पुस्तकले नेपाली कलाका विविध आयामलाई खोतल्ने काम गरेको बताइन् ।

उनले राणाकालमा नेपालमा ३८ वटा दरबार बनेको र ती दरबारमा बनाएका पेन्टिङका बारेमा खोज अनुसन्धान हुनुपर्ने विचार व्यक्त गरिन् । उनले थपिन्, ‘पुस्तक नेपाली कला बुझ्न चाहने सबैलाई एउटा गाइडलाइन हुने विश्वास लिन सकिन्छ ।’ थापाले लेखकले निकै खोजमूलक ढंगले पुस्तक ल्याएको धारणा राख्दै नेपाली कलाको अझै प्रभावकारी खोजका लागि काम हुन बाँकी रहेको धारणा राखिन् ।

त्यस्तै, डा. पुनम आरएल राणाले पुस्तकमाथि टिप्पणी गर्दै नेपाली कला र कलाकारका बारेमा जानकारी लिनका लागि पुस्तक निकै उपयोगी रहेको धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘पुस्तक निकै राम्रो छ । यसमा आर्टिस्टका बारेमा उल्लेख छ । ट्रयाडिसनल आर्टका बारेमा समेत चर्चा गरिएको छ ।’

उनले लेखकले कलाको तुलनात्मक अध्ययन गर्दै पहिला कपडामा कलाकृति बनेको कुरालाई उल्लेख गरेको जनाउँदै अहिले कागजमा बनाउने चलन चलेको विषय चर्चा गरेको सुनाइन् । उनले पुस्तकमा पहिला पहिला कलाकृति पुजाका लागि बनाइने तर अहिले व्यापारका लागि बनाइने चलन चलेको लेखकले उल्लेख गरेको बताइन् ।

कलाकार तथा लेखक मदन चित्रकारले नेपालमा ललितकला वाङ्मयको अभाव रहेको बताए । उनले थोरै भए पनि नेपाली कला वाङ्मयलाई समृद्ध बनाउने ध्येय राखेर पुस्तक प्रकाशित गरेको सुनाए । उनले भने, ‘नेपाली कलालाई चिनाउने र यसका विभिन्न आयामलाई दस्तावेजीकरण गर्ने लक्ष्यका साथ पुस्तक प्रकाशन गरेका हौँ ।’

उनले पुस्तकमा नेपालमा चलेका कलाका विभिन्न शैली र प्रचलित मान्यतालाई समेट्ने कोशिस गरेको जानकारी दिए । लेखक चित्रकारले भने, ‘नेपाली कलाक्षेत्रमा खोज अनुसन्धानको कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन सबै निकाय जागरुक भएर लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको छ । यस कार्यमा प्रतिष्ठान, विश्वविद्यालय, कलासम्बन्धी विभिन्न संघ संस्था लाग्नुपर्दछ ।’

सिर्जना कलेज अफ फाइन आर्टस्का अध्यक्ष महेन मोहन श्रेष्ठले नेपाली कलालाई समृद्ध बनाउने उद्देश्य राखेर पुस्तक प्रकाशन गरेको बताए । उनले आगामी दिनमा समेत कलेजले कलाका विभिन्न विषयमा कृति प्रकाशन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कलेजका भाइस प्रिन्सिपल तथा कलाकार नवीन्द्रमान राजभण्डारीले नेपालमा कला प्रकाशनको अभाव भइरहेका बेला प्रकाशनमा आएको यस पुस्तकले त्यसको पूर्ति गर्ने धारणा व्यक्त गरे ।

उनले सिर्जना कलेज अफ फाइन आर्टस्ले प्रकाशन गरेको यो पुस्तक कलाकार, कलाका विद्यार्थी, कलापारखी, इतिहास अध्येता लगायतका लागि उपयोगी हुने बताए । अंग्रेजी भाषामा लेखिएको यस पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ । पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारेमा चर्चा समेत गरिएको छ ।

प्रतिक्रिया