ललितपुर मेयर्सको उपाधि एपीएफलाई

काठमाडौं । विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेटको उपाधि जितेको छ ।शनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १०७ रनको लक्ष्य एपीएफले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने कप्तान सीता राना मगरले २९ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित १९ रन योगदान गरिन् । ममता चौधरी १५ रनमा अविजित रहिन् । ओपनर सीता राना मगर र ज्योति पाण्डेले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

सीता २९ रन बनाएर ११ औं ओभरको अन्तिम बलमा रनआउट भइन् । उनले ३२ बल खेल्दै ४ चौका प्रहार गरिन् । यस्तै ३८ बल खेलेकी ज्योतिले ५ चौका मद्दतमा ३६ रन जोडिन् । उनी १३ औं ओभरको तेस्रो बलमा रनआउट भइन् । त्यसपछि इन्दु बर्मा र ममता चौधरीले एपीएफलाई जितसम्म पु¥याए । उनीहरुले तेस्रो विकेटका लागि अविजित ३० रनको साझेदारी गरे । इन्दुले २१ बल खेल्दै २ चौका मद्दतमा १९ रन र ममताले ९ बल खेल्दै २ चौका मद्दतमा १५ रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो । फाइनलमा डली भट्टले रेवतीसँग ओपनिङ गरेकी थिइन् तर पहिलो विकेटका लागि यी दुईबीच १४ रनको मात्र साझेदारी बन्यो । दोस्रो विकेटका लागि डली र बिन्दुले ३० रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि विन्दु रावलले अविजित रहँदै सर्वाधिक ४४ रन बनाइन् ।

५४ बल खेलेकी उनले ४ चौका प्रहार गरिन् । यस्तै डली भट्टले १३, कविता कुँवरले १३ र रेवती धामीले १० रन जोडिन् । बाँकी चार खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । एपीएफका लागि बलिङमा रेखा रावल, करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढाले १–१ विकेट लिए । नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकाको सहयोगमा आयोजना गरेको प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरेको थियो ।

जसमा एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो । सिंगल राउण्ड रोविनपछि शीर्ष दुई स्थानमा रहेका एपीएफ र सुदूरपश्चिमले फाइनल खेलेका हुन् । जसमा एपीएफ अपराजित रहँदै उपाधि जित्न सफल भयो । च्याम्पियन बनेको एपीएफले उपाधिसँगै ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ पाएको छ ।

प्रतिक्रिया