सुदूरपश्चिमसँग प्रदेश–१ स्तब्ध

काठमाडौं । स्पिनर लक्ष्मी साउँदको ह्याट्रिकको सहयोगमा सुदूरपश्चिम प्रदेशले तीन महिना अघि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता च्याम्पियन प्रदेश–१ लाई ४० रनले पराजित गरेको छ । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक १८.५ ओभरमा ८९ रनमा अल आउट भयो । सुदूरपश्चिमकी स्पिनर लक्ष्मी साउँदले ह्याट्रिक लिँदै सहज जित दिलाइन् । प्रदेश–१ को लागि कप्तान रुविना क्षेत्री बेलबासे २० बलमा ५ चौका सहित सर्वाधिक २७ रनको योगदान दिइन् ।

दोस्रो ओभरको तेस्रो बलमा ३० याडबाट डली भट्टले काजल श्रेष्ठलाई डाइरेक्ट स्टम्प ताक्दै पहिलो सफलता दिलाएकी थिइन् । काजल ४ रनमा आउट भइन् । आठौं ओभरको चौथो बलमा कविता कुँवरले कप्तान रुविनालाई बोल्ड आउट गरेपछि प्रदेश १ को जितको सम्भावना कठिन बनेको थियो । १४ औं ओभरको पाँचौ बलमा कविता जोशीले अप्सरी बेगमलाई २२ रनमा बोल्ड आउट गरिन् । अप्सरी ३९ बलमा ३ चौका प्रहार गरिन् । लगत्तै अर्को बलमा लाकिता राजवंशीलाई शून्यमा एलबिडब्लू आउट गरिन् । लक्ष्मी साउँदले रोमा थापालाई ५ रनमा बोल्ड आउट गरेपछि जितको सम्भावना टाढिएको थियो ।

लक्ष्मीले १९ औं ओभरमा ह्याट्रिक लिएकी थिइन् । १९ औं ओभरको तेस्रो बलमा सबनम राईलाई ऋतु कनोजियाबाट शून्यमा क्याच आउट गराइन् । अर्को बलमा स्मृती कुटवाललाई २ रनमा एलबिडब्लू आउट गरिन् । पाँचौं बलमा ज्योती दनुवारलाई कविता कुवरबाट क्याच गराउँदै ह्याट्रिक हात पारेकी थिइन् । स्पिनर लक्ष्मी साउँदले ३.५ ओभरमा १९ रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । कविता जोशीले २ र सुनिता लोहारको नाममा १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । सुदूरपश्चिमकी विन्दु रावलले ५८ बलमा ४ चौका सहित सर्वाधिक ५२ रनको योगदान दिइन् । विन्दुले ५४ बलमा अर्धशतक पूरा गरेकी थिइन् । विन्दुले १७ औं ओभरको अन्तिम बलमा सबनम राईलाई चौका प्रहार गर्दै अर्धशतक प्रहार गरेकी थिइन् । पहिलो ओभरको पहिलो बलमै ओपनर मञ्जु बोगटीलाई सबनम राईले शून्यमा एलबिडब्लू आउट गरेकी थिइन् ।

दोस्रो विकेटका लागि रेवती धामी र विन्दु रावलले ७४ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलको आधार तय गरेका थिए । १३ औं ओभरको पहिलो बलमा रेवती दुई रन लिनेक्रममा ३० रनमा रन आउट हुन पुगिन् । रेवतीले ३२ बलमा ३ चौका प्रहार गरिन् । विन्दुलाई १९ औं ओभरको पहिलो बलमा सबनमले बोल्ड आउट गरेकी थिइन् । कविता जोशी २४ बलमा २ चौका सहित २१ रनमा आउट भइन् । डली भट्ट ८ रनमा अविजित रहिन् । प्रदेश १ की सबनम राईले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । ज्योती दनुवारले १ विकेट लिइन् ।

एपिएफ ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । एपिएफ एक खेल अगावै फाइनलमा पुगि सकेको छ । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिमले पहिलो खेलमा ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा एपिएफसँग ३७ रनले पराजित भएको थियो ।

सुदूरपश्चिमले आफ्नो लिग चरणको अन्तिम खेल लुम्बिनी प्रदेशसँग बुधबार खेल्ने छ । उक्त खेलमा विजयी भएमा स्वत फाइनलमा पुग्ने छ । पराजित भएमा अन्य टोलीको नजिता पर्खनु पर्ने हुन्छ । प्रदेश–१ २ खेलमा हार र १ मा जित सहित २ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल बिहिबार ललितपुरसँग खेल्ने छ । ललितपुर ११ ले ३ खेलमा २ हार र १ मा जितका चौथो स्थानमा । लुम्बिनी दुबै खेलमा हारका साथ पुछारमा छ ।

प्रतिक्रिया