थ्री स्टारलाई बागमती गोल्डकप उपाधि

काठमाडौं । पहिलो हाफमा २ गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै रुस्लान थ्री स्टार क्लबले चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । थ्री स्टारले अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।

इन्ज्युरी समयमा एनआरएका खेलाडीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई कप्तान रुपेश केसीले गोलमा परिणत गर्दै टोलीलाई जित दिलाएका थिए । प्रशिक्षक उज्जन श्रेष्ठले थ्री स्टारको प्रशिक्षकका रुपमा पहिलो प्रतियोगितामा नै उपाधि जितेका छन् । बागमती गोल्डकप खेल्नु अघि थ्री स्टारले उनलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

खेलको १२ औं मिनेटमा एमफोमले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मौसाले गोल गर्दै क्यामरुनी टोलीलाई २–० ले अघि बढाए । पहिलो हाफमा केहि कमजोर प्रदर्शन गरेको थ्री स्टारले दोस्रो हाफमा भने सानदार पुनरागमन गर्यो ।

मनिष डाँगीले ५८ औं मिनेटमा गोल गर्दै ललितपुरे टोलीलाई खेलमा फर्काए । त्यसको तीन मिनेटपछि नै निशान खड्काले फ्रिकिकमा गोल गर्दै २–२ को बराबरीमा ल्याए । इन्ज्युरी समयमा अफ्रिकनका डिफेन्डरले मनिष डाँगीको प्रहारलाई हातले रोकेपछि रेफ्री नविन्द्र महर्जनले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई कप्तान रुपेश केसीले गोलमा परिणत गर्दै उपाधि दिलाए ।

मकवानपुरको बागमती गाँउपालिका खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ८ लाख रुपैयाँ प्राप्त गरेको छ । थ्री स्टार अब पोखरामा जारी १९ औं आहा रारा गोल्ड कपमा भाग लिन त्यसतर्फ जानेछ । एआरए पनि आहा! रारा गोल्डकपको सेमिफाइनल पुगिसकेको छ ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबलाई हराउँदै एनआरए अन्तिम चारमा पुगेको थियो । आहा रारामा पहिलो खेलमा सफलता पाउने वित्तिकै एनआरए टोली बागमति गोल्डकपका लागि मकवानपुरको फापरबारीतर्फ लागेको थियो ।

प्रतिक्रिया