प्रिन्सद्वारा हरेक उपाधिको ५ हजार गौतम बुद्ध रंगशालालाई

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियर वरियतामा रहेका प्रिन्स दाहालले आगामी बर्ष आफूले सफलता प्राप्त गरेमा त्यसमध्येबाट हरेक पटक ५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध बहुउद्देश्यी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गर्ने घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता समेत रहेका प्रिन्सले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन्,‘ चितवन भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सहयोग अन्तर्गत २०७८ सालमा मैले जित्ने प्रत्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता को ५ हजार फाउन्डेसनलाई दिने निर्णय गरेको छु । आशा छ अरु ले पनि यसरी नै सहयोग गर्नु हुनेछ ।’

प्रिन्सले यो वर्ष ३ वटा सिनियरतर्फको उपाधि जितेका थिए । गत वर्ष स्वदेशमा आयोजना भएको सागको ब्याडमिन्टनमा प्रिन्स सम्मिलित टोलीले टिम इभेन्ट्समा कास्य पदक जितेको थियो । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले माघमा जारी गरेको खेलाडीको वरिययतामा प्रिन्स ८ स्थान सुधार गर्दै शीर्ष ३ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । विश्व जुनियर वरीयताको शीर्ष ३ भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो । यसअघि प्रिन्स सातौ र अहिले ११औं स्थानमा रहेका थिए । प्रिन्सले पछिल्लो समय जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । गत चैतयता कोरोना महामारीका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित हुनुअघिको ७ खेलमा ५ जित निकालेका थिए । कोरोनापछि घरेलु प्रतियोगिता सुचारु हुँदा प्रिन्सले नेपाल नम्बर एक रत्नजित तामाङलाई हराउदै उपाधि जितेका थिए ।

प्रतिक्रिया