कोरोना जोखिम पुनः देखिँदा उच्च सतर्कता

सुदूरपश्चिम । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शंकास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्य रूपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । ‘भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ’, महाशाखाका प्रमुख कार्कीले भने, ‘केही दिनदेखि मुख्य गरेर कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा यो व्यवस्था गरेकामा आवश्यकताअनुसार झुलाघाट र बैतडीका सीमा नाकामा पनि एन्टिजेनको व्यवस्था गर्ने पहल भएको छ ।’

धनगढी उपमहानगरपालिकाद्वारा आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ । उपमहानगरपालिकाले संक्रमण पुनः बढ्न सक्ने जोखिम रहेकाले भिडभाड नगर्न तथा भिडभाडमा जानै परेमा सामाजिक भौतिक दुरी कायम गर्न, मास्क अनिवार्य प्रयोग गर्नेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही दिनयता संक्रमणको दर भने शून्य छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि हालसम्म प्रदेशमा पिसिआर पद्धतिबाट १ लाख ३७ हजार ६ सय २३ को स्वास्थ्य परीक्षण गरिएकामा १४ हजार ६८ जनामा संक्रमण देखिएको थियो । प्रदेशमा स्वास्थ्य परीक्षण गरिएको संख्या कुल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ को झण्डै पाँच प्रतिशत हो । संक्रमितमध्ये १३ हजार ८ सय ६५ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । होमआइसोलेसनमा हाल ९६ जना संक्रमित रहेका छन् ।

स्वास्थ्य महाशाखाका प्रमुख कार्की कोभिड–१९ को संक्रमण घट्दो क्रममा रहे पनि जोखिम भने नहटेको बताउँछन् । उनले भने, ‘जोखिम नघटिसकेकाले संक्रमित क्षेत्र भारतबाट प्रदेशमा भित्रिनेलाई सीमामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी सचेतना दिने कामसमेत भइरहेको छ ।’ लक्षण देखिएका व्यक्ति र संक्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमुना संकलन र स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । पुस महिनासम्म प्रदेशमा कोरोना भाइरसबाट संक्रमित ५६ जनाको मृत्यु भएको थियो । त्यसयता प्रदेशमा यो रोगका कारणले हुने मृत्यु दर शून्य छ । होम आइसोलेसन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्यांक भने मन्त्रालयसँग छैन । कोभिड–१९ को उपचार व्यवस्थापनका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगायतका क्षेत्रमा स्थापना गरिएको कोरोना अस्पतालका शय्याहरू खाली छन् ।

सुदूरपश्चिम प्रदेशमा उपलब्ध गराइएको कोरोना विरुद्धको खोप (कोभिशिल्ड) पहिलो र दोस्रो चरणमा लक्षित समूहलाई दिइसकिएको छ । पहिलो चरणमा कोभिड—१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइएको थियो । दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिलाई यो खोप दिइएको छ । खोप लगाएकालाई दोस्रो मात्रको खोप आगामी ७ वैशाखबाट दिने तयारी भइरहेको छ । ‘पहिलो खोप लगाइसकेकालाई खोपको दोस्रो मात्रा लगाउन व्यवस्थापन भइरहेको छ’, स्वास्थ्य निर्देशनालय दिपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘नयाँ खोप आएपछि खोपको उपलब्धताका आधारमा अन्य उमेर समूहका व्यक्तिलाई पनि खोप लगाउने तयारी भइरहेको छ ।’

प्रतिक्रिया