यो वर्षको मनसुनमा धेरै वर्षा र बढी तापक्रम

काठमाडौँ । यो वर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ । बुधबार जल तथा मौसम विज्ञान विभागले १८ जेठदेखि १४ असोजसम्मको ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको हो ।

विभागले गरेको प्रक्षेपण अनुसार औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेका स्थान भने फरक–फरक छन् । यसवर्ष नेपालको पूर्वीभाग भन्दा पश्चिमतर्फ धेरै वर्षा हुने विभागको प्रक्षेपण छ ।
विभागका अनुसार कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा धेरै पानी पर्ने सम्भावना छ । त्यहाँ सरदरभन्दा ५५ देखि ६५ प्रतिशत बढी पानी पर्ने सम्भावना छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोसी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा ४५ देखि ५५ प्रतिशत बढी वर्षा हुनेछ ।

त्यस्तै, अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भू–भाग, कर्णाली प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग, गण्डकी प्रदेशको पश्चिमी भू–भाग, मधेस प्रदेशको पश्चिमी भू–भाग र बागमती प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना बढी (५५ देखि ६५ प्रतिशत) रहेको छ । त्यसैगरी विभागका अनुसार मधेस प्रदेशको पूर्वी भू–भाग र गण्डकी प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी तापक्रम हुने भए पनि अन्य क्षेत्रभन्दा कम बढ्ने सम्भावना छ । देशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ ।

यस वर्ष प्रि–मनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेको छ । यसैले मनसुनको सुरुआतमा हुने वर्षाले क्षति पु¥याउन सक्ने विभागको आँकलन छ । यसअघि भारतको पुणेमा अप्रिल २८ देखि ३० सम्म आयोजित दक्षिण एसियाली मौसम पूर्वानुमान मञ्च (सास्कोफ) बैठकले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान र म्यानमारमा यस वर्षको मनसुनको सम्भावित अवस्था सार्वजनिक गरेको थियो ।

विज्ञहरू पनि यो वर्षको मनसुनको सुरुआतमा हुने वर्षाले क्षति पु¥याउन सक्नेमा सहमत छन् । सास्कोफको क्षेत्रीय मौसम पूर्वानुमानलाई समेत आधार मानेर विभागले नेपालमा यस वर्षको सम्भावित मनसुनी अवस्थाबारे जानकारी दिएको हो ।

वर्षा राम्रो हुँदा बालिनाली सप्रिएर उत्पादन राम्रो हुने अनुमान गरिए पनि पहिरो, बाढी र डुबानको समस्या पनि ल्याउने गर्दछ । यस वर्ष पनि मनसुन अवधिमा प्राकृतिक प्रकोप बढ्ने जोखिम भएकाले पूर्वतयारीका काम थाल्न मौसमविदहरूले सुझाव दिएका छन् ।

वर्षा र तापक्रमको असमान वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र, तथा मानव स्वास्थ्यमा प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । यस्तो अवस्थामा बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बालीको विविधीकरण, मौसमअनुकूल बिउ तथा प्रविधिको प्रयोग एवं विपद् उद्धार तथा राहतको तयारी आवश्यक देखिएको छ ।

कस्तो छ सम्भावित विपद्सँग जुध्ने तयारी ?

मनसुनमा धेरै पानी पर्ने र तापक्रम बढ्ने प्रक्षेपण सार्वजनिक भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विगतका १० वर्षको तथ्यांक तथा घटना विश्लेषण गरेर ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’ तयार पार्ने काम भइरहेको बताएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले कार्यकारी समितिबाट कार्ययोजना पारित भएपछि अबको केही दिनमा देशभरका स्थानीय सरकार, सुरक्षा निकायहरूसम्म पु¥याउने तयारी रहेको बताए । उनले भने, ‘कार्ययोजनामा संघदेखि स्थानीय तहसम्मले गर्नुपर्ने कामहरू तय गरिएको हुन्छ । सबै सरकारी संयन्त्र परिचालन हुनेछन् ।’ १० दिनभित्र ७५३ स्थानीय तह, सातै प्रदेशका मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालाहरूसँग जुम मिटिङ गर्ने तयारी रहेको उनले बताए ।

‘स्रोत साधनको अभाव देखिए पनि उपलब्ध स्रोत साधनबाटै काम चलाउने तयारी रहेको छ । उद्धार, राहत सामग्री धेरै ठाउँमा तयारी नै छ । विभिन्न संघसंस्थाहरूसँग समन्वय भइरहेको छ’, उनले भने, ‘गत वर्ष समन्वयको अभावले धेरै क्षति हुन पुगेको हो ।’

गत वर्ष नेपालमा मनसुनजन्य विप्दवाट ४९५ जनाले ज्यान गुमाएका थिए, जसमा २५० जनाले असोजमा ३ दिन भएको वर्षपछिको बाढी तथा पहिरोमा ज्यान गुमाएका थिए । ४५ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको थियो । गत वर्षको जस्तो अनपेक्षित क्षति नहोस भन्नका लागि प्राधिकरण चनाखो भएर काम गरिरहेको केसीले भनाइ छ ।

प्रतिक्रिया